काठमाडौं । लागू औषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले सिरहाको लहानमा लागूऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीमाथि आक्रमण भएपछि आत्मरक्षाका लागि गोली प्रहार गरेको छ।
ब्युरोका अनुसार भारतबाट नेपालतर्फ ब्राउन सुगर ल्याई ओसारपसार तथा बिक्री–वितरण गरिरहेको सूचनाका आधारमा बिहीबार लहान नगरपालिका–३ अस्पताल चोकमा निगरानी गर्ने क्रममा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा प्रहरी टोलीमाथि आक्रमण भएको थियो।
प्रहरीले चेतावनीस्वरूप ५ राउण्ड हवाई फायर गरे पनि नमानेपछि आत्मरक्षाका लागि दुई जनाको खुट्टामा गोली प्रहार गरेको जनाएको छ। गोली लागेर मो. नासिरको बाँया खुट्टा र विद्यानन्द यादवको दाहिने खुट्टा घाइते भएका छन्। उनीहरूको प्रादेशिक अस्पताल लहानमा उपचार भइरहेको छ।
घटनास्थलबाट २४३ ग्राम ब्राउन सुगर, दुई थान मोटरसाइकल र सात थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा भारत, बिहारका २२ वर्षीय विद्यानन्द यादव, सप्तरीका ४० वर्षीय मो. नासिर, २८ वर्षीय शम्भु प्रसाद यादव, २८ वर्षीय मो. जमिरुल आलम, २४ वर्षीय वैद्यनाथ प्रसाद यादव र ३२ वर्षीय मो. इमानुद्दिन रहेका छन्।
घटनाबारे थप अनुसन्धानका लागि पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय लहानको जिम्मा लगाइएको लागू औषध नियन्त्रण ब्युरोले जनाएको छ।

















प्रतिक्रिया