तारकेश्वरमा कारभित्र जलेको अवस्थामा मृत फेला परेकी महिलाको परिचय खुल्यो


काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–१ स्थित बालुवा प्रशोधन केन्द्र नजिक पार्किङ गरिएको BAE 0410 नम्बरको विद्युतीय कारभित्र जलेको अवस्थामा मृत फेला परेकी महिलाको परिचय खुलेको छ।

मृतक तारकेश्वर–९, शुभकामना चोक निवासी ४५ वर्षीया रश्मी रिजाल रहेको प्रहरीले जनाएको छ। उनी नक्सालस्थित सानिमा क्यापिटल लिमिटेड मा मर्चेन्ट हेड पदमा कार्यरत थिइन्।

प्रहरीका अनुसार रश्मी साउन ८ गते बिहानदेखि सम्पर्कविहीन भएकी थिइन्। शनिबार दिउँसो करिब १ बजे कारको पछाडिको सिटमा उनको शव फेला परेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ। शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ भने घटनाको वास्तविक कारण पोस्टमार्टम प्रतिवेदन र अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ।