काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय प्रभावकारी रूपमा सञ्चालन गर्न गेटा अस्पताललाई तत्काल कम्तीमा ३०० शय्याको क्षमतामा सञ्चालनमा ल्याउनुपर्ने बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले प्रदेश सरकारले पूर्वस्वीकृति दिइसकेको सेती प्रादेशिक अस्पताललाई गेटा अस्पतालमा गाभेर स्वास्थ्य मन्त्रालयकै जनशक्ति परिचालन गरे अत्यन्त न्यून लागतमा अस्पताल सञ्चालन गर्न सकिने उल्लेख गरेका छन्।
पौडेलले आफू स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हुँदा गेटा अस्पताल सञ्चालन तथा एमबीबीएस पठनपाठन सुरु गर्न आर्थिक वर्ष २०८२/८३ को बजेटमै स्रोत सुनिश्चित गरिएको दाबी गरेका छन्। त्यतिबेला अस्पतालको क्षमता अभिवृद्धि गरी शैक्षिक कार्यक्रम सञ्चालन गर्न तयारी रहे पनि केही पक्षबाट विरोध भएको उनले उल्लेख गरेका छन्।
डा. गोविन्द केसीले गेटा अस्पताल शीघ्र सञ्चालनको माग गर्दै सुरु गरेको सत्याग्रह अन्ततः दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई सुदृढ बनाउने उद्देश्यसँग जोडिएको भन्दै पौडेलले अहिले पनि विभिन्न बहानामा अस्पतालको क्षमता विस्तार र सञ्चालन प्रक्रियामा अवरोध सिर्जना गर्ने प्रयास भइरहेको आरोप लगाएका छन्।
उनले गेटा अस्पताललाई तत्काल ३०० शय्यामा स्तरोन्नति गरी सञ्चालनमा ल्याउनु नै सबैभन्दा व्यावहारिक र उचित विकल्प भएको उल्लेख गर्दै यसो नगरी विश्वविद्यालयको उद्देश्य पूरा नहुने र एमबीबीएसको पठनपाठन पनि सुरु हुन नसक्ने बताएका छन्।


















प्रतिक्रिया