विराटनगर । झापाको जयपुरकी ४३ वर्षीया बालकुमारी आर्थिक अभावका कारण मिर्गौलाको गम्भीर समस्याको उपचार गराउन नसक्ने अवस्थामा थिइन्। यही कठिन परिस्थितिमा जेन्जी आन्दोलनबाट चर्चामा आएकी किशोरी कार्कीले उनलाई विराटनगरस्थित नोबेल अस्पतालसम्म पुर्याएर उपचारको पहिलो ढोका खोलिदिइन्।
बालकुमारीलाई अस्पतालसम्म ल्याइए पनि उपचारका लागि आवश्यक ठूलो खर्च जुटाउने चुनौती कायमै थियो। मिर्गौला प्रत्यारोपणजस्तो महँगो र जटिल उपचारका कारण परिवार चिन्तामा रहेको बेला नेपाली कांग्रेसका नेता तथा समाजसेवी सुनील शर्माले उनको निःशुल्क उपचारको सम्पूर्ण जिम्मेवारी लिने घोषणा गरेका छन्।
शर्माले आवश्यक सबै प्रक्रिया पूरा गरी निःशुल्क मिर्गौला प्रत्यारोपणसमेत गराइदिने प्रतिबद्धता जनाएपछि बालकुमारी र उनका परिवारमा नयाँ आशा पलाएको छ। आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य हुने विश्वाससँगै उनी अहिले उपचार प्रक्रियामा सहभागी भएकी छन्।
आर्थिक रूपमा कमजोर बिरामीलाई समयमै अस्पतालसम्म पुर्याउने किशोरी कार्कीको पहल र उपचारको जिम्मा लिने सुनील शर्माको मानवीय सहयोगले बालकुमारीको जीवनमा नयाँ उज्यालो थपेको छ। अहिले नोबेल अस्पतालमा उपचार प्रक्रिया अघि बढिरहेको छ भने बालकुमारी स्वस्थ भएर घर फर्किने आशामा छन्।


















प्रतिक्रिया