कैलालीमा आत्मदाह प्रयास गरेकी ३५ वर्षीया महिलाको मृत्यु


काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका–७ की ३५ वर्षीया ज्योति चौधरीको शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेपछि उपचारका क्रममा मृत्यु भएको छ।

प्रहरीका अनुसार चौधरीले आइतबार साँझ आफ्नै घरभित्र शरीरमा पेट्रोल छर्केर आगो लगाएकी थिइन्। गम्भीर घाइते भएकी उनलाई आफन्तले तत्काल सेती प्रादेशिक अस्पताल पुर्‍याएका थिए। चिकित्सकका अनुसार उनको शरीरको करिब ६० प्रतिशत भाग जलेको थियो।

थप उपचारका लागि उनलाई सुरुमा भेरी अस्पताल, नेपालगञ्ज पठाइएको थियो। त्यसपछि आफन्तले काठमाडौं लैजाँदै गर्दा सोमबार बिहान करिब ७ बजे धादिङ पुग्ने क्रममा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ भने यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।