कांग्रेसका सभापति थापाको सरकारलाइ प्रश्न – नागरिकको ज्यान गरी गोली चलाउनुपर्ने अवस्था किन सिर्जना भयो


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घटनाको निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिन गर्न सरकारसँग माग गरेका छन्।

आइतबार जारी प्रेस विज्ञप्तिमा थापाले घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्। साथै, घाइते भएका नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

थापाले सरकारसँग प्रश्न गर्दै नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन सिर्जना भयो भन्ने विषयमा स्पष्ट जवाफ दिनुपर्ने बताएका छन्। सामाजिक सद्भावमा असर पार्न सक्ने संवेदनशील परिस्थितिमा राज्य अझ बढी संयमित, सतर्क र जिम्मेवार हुनुपर्ने उल्लेख गर्दै समयमै पर्याप्त समन्वय र सुरक्षा सतर्कता अपनाउन नसक्दा यस्तो अवस्था आएको बताएका छन्।

उनले घटनाको सत्यतथ्य तत्काल सार्वजनिक गर्न, घाइतेहरूको प्रभावकारी उपचार सुनिश्चित गर्न तथा मृतकका परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन पनि सरकारसँग आग्रह गरेका छन्।

थापाले प्रभावित क्षेत्रमा शान्ति, सुरक्षा र जनविश्वास कायम राख्ने गरी परिस्थितिको व्यवस्थापन गर्न सरकारलाई आग्रह गर्दै सबै पक्षलाई अफवाह र उत्तेजनाबाट टाढा रहन अपिल गरेका छन्। स्थानीयवासी, नागरिक समाज, सामुदायिक संस्था तथा राजनीतिक दलहरूलाई सामाजिक सद्भाव कायम राख्न जिम्मेवार भूमिका निर्वाह गर्न पनि उनले आग्रह गरेका छन्।