सुनसरी घटनामा शान्ति, निष्पक्ष छानबिन र सामाजिक सद्भाव कायम गर्न रास्वपाको आग्रह


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुनसरीसहित पूर्वी जिल्लाहरूमा हालै भएको दुःखद घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ। साथै, घाइते भएका नागरिक र सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

मंगलबार जारी विज्ञप्तिमा रास्वपाले कुनै पनि समस्या वा विवादको समाधान हिंसा र मुठभेडबाट सम्भव नहुने उल्लेख गर्दै नेपालको बहुलवादी संस्कृति, आपसी एकता, सहिष्णुता र सामाजिक सद्भाव जोगाउन सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ।

पार्टीले आम नागरिक, धार्मिक तथा सामाजिक अगुवा, सरोकारवाला निकाय र राजनीतिक दलहरूलाई अफवाह र उत्तेजनाबाट टाढा रहँदै सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ।

रास्वपाले वर्तमान संवेदनशील परिस्थितिमा शान्ति सुरक्षा कायम गर्न, नागरिकको जिउधनको रक्षा गर्न र अवस्था सामान्य बनाउन सरकार तथा स्थानीय प्रशासनसँग सहकार्य गरिरहेको जनाएको छ। साथै, घटनाको स्वतन्त्र, निष्पक्ष र द्रुत छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन तथा पीडितलाई उचित न्याय, क्षतिपूर्ति र निःशुल्क उपचार उपलब्ध गराउन सरकारसँग माग गरेको छ।

विज्ञप्तिमा रास्वपाले आफू शान्ति, न्याय र सामाजिक सद्भावको पक्षमा दृढ रहेको उल्लेख गर्दै संवादमार्फत समस्याको शान्तिपूर्ण समाधान खोज्न आवश्यक भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ।

साथै, घटनालाई कुनै पनि बहानामा राजनीतिकरण नगर्न सबै राजनीतिक दल र सम्बन्धित पक्षसँग आग्रह गर्दै पार्टीका स्थानीय समिति तथा सम्पूर्ण कार्यकर्तालाई शान्ति र सद्भाव कायम राख्न सक्रिय भूमिका खेल्न निर्देशन दिएको छ।