सर्वदलीय बैठकपछि रवि : राजनीतिक लडाइँ आफ्नो ठाउँमा, अहिले सबै एक ठाउँमा


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी घटनापछि उत्पन्न परिस्थितिबारे सबै राजनीतिक दलले संयुक्त अपिल जारी गर्ने बताएका छन्।

बुधबार सिंहदरबारमा आफूले आह्वान गरेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले राजनीतिक मतभेद आफ्नो ठाउँमा रहे पनि राष्ट्रिय संवेदनशीलताका विषयमा सबै दल एकै ठाउँमा उभिएको बताए।

‘राजनीतिक रूपमा हामीले लड्ने मैदान फरक छन्, तर यस्तो बेला हामी एकै ठाउँमा उभियौँ। सबै दलको एउटा संयुक्त अपिल छिट्टै सार्वजनिक हुन्छ,’ लामिछानेले भने।

उनले सर्वदलीय बैठक सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले समेत आयोजना गरिएको स्पष्ट पारे। बैठकमा सहभागी विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले आफ्नो धारणा राख्नुका साथै परिस्थिति समाधानका लागि आवश्यक सुझाव र मार्गनिर्देशन दिएको उनले जानकारी दिए।

लामिछानेका अनुसार बैठकमा सरकारका तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्ले सहभागी भएका थिए।

सुनसरी घटनापछि सामाजिक सद्भाव, शान्ति–सुरक्षा र राजनीतिक सहमतिबारे साझा धारणा निर्माण गर्न सर्वदलीय बैठक आयोजना गरिएको र त्यसको निष्कर्षस्वरूप सबै दलको संयुक्त अपिल सार्वजनिक गरिने तयारी भइरहेको उनले बताए।