प्रधानमन्त्री र गृहमन्त्रीको बचाउमा रवि : अहिले चर्का कुरा गर्ने बेला होइन


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी घटनापछि सामाजिक सद्भाव कायम राख्न सबै पक्षले संयमता अपनाउनुपर्ने भन्दै अहिले चर्का अभिव्यक्ति दिने समय नभएको बताएका छन्।

बुधबार सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले प्रधानमन्त्री र गृहमन्त्री आ–आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेको उल्लेख गर्दै अहिलेको प्राथमिकता शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्नु भएको बताए।

‘प्रधानमन्त्रीले गर्नुपर्ने काम गरिरहनुभएको छ, गृहमन्त्रीले गर्नुपर्ने काम गरिरहनुभएको छ। अहिले शान्ति र सद्भाव कायम गर्ने हो। अहिले चर्का कुरा गर्ने होइन। कसले बोल्यो, कसले बोलेन भन्ने होइन, सामाजिक सद्भाव भड्किन नदिनु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो,’ उनले भने।

सुनसरी घटनालाई सबै राजनीतिक दलले गम्भीरतापूर्वक लिएको उल्लेख गर्दै उनले अहिले आरोप–प्रत्यारोपभन्दा परिस्थिति सामान्य बनाउन सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिए।

लामिछानेले विगतका आन्दोलन र अहिलेको परिस्थितिबीच फरक रहेको उल्लेख गर्दै नागरिकको ज्यान गएको घटनालाई सबैले गम्भीर रूपमा लिनुपर्ने बताए।