सुरक्षा अवस्था बिग्रँदै गएको भन्दै सरकारमाथि एमाले सांसद पद्मा अर्यालको प्रश्न


काठमाडौं । पद्मा अर्यालले प्रतिनिधिसभाको बिहीबारको बैठकमा मुलुकमा दिनानुदिन सुरक्षा चुनौती बढ्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेकी छन्।

प्रधानमन्त्रीको भूमिकामाथि प्रश्न उठाउँदै उनले भनिन्, “देशमा अशान्ति फैलँदा प्रधानमन्त्री बालेन कहाँ हुनुहुन्छ? प्रधानमन्त्रीको पद सिंहदरबारमा सजाउनका लागि मात्रै बनाइएको होइन।”

सुनसरीमा भएको गोलीकाण्ड र त्यसबाट भएको मानवीय क्षतिको नैतिक जिम्मेवारी लिँदै सुधन गुरुङ र प्रधानमन्त्री वालेन्द्र शाहले राजीनामा दिनुपर्ने हो कि होइन भन्ने प्रश्न पनि उनले उठाइन्। विगतमा यस्तै प्रकृतिका घटना हुँदा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई समेत जवाफदेही बनाइएको प्रसंग उनले स्मरण गराइन्।

अर्यालले कैलालीको टीकापुर, रौतहट, कपिलवस्तु, बाँके र वीरगञ्जलगायत संवेदनशील क्षेत्रमा विगतमा विशेष रणनीतिका साथ समस्या समाधान गरिएको उल्लेख गर्दै वर्तमान सरकारले पनि सोहीअनुरूपको प्रभावकारी योजना तत्काल ल्याउनुपर्नेमा जोड दिइन्।

शान्ति–सुरक्षा कायम गर्ने विषयमा प्रतिपक्ष सरकारसँग सहकार्य गर्न तयार रहेको स्पष्ट पार्दै उनले भनिन्, “देशमा शान्ति, सुरक्षा र अनुशासन कायम गर्ने योजना र कदममा हामी सरकारसँग हातेमालो गर्न तयार छौँ। सरकारले तत्काल शान्ति सुरक्षाको ठोस योजना ल्याओस्।”