काठमाडौं। मधेशमा उत्पन्न तनावपूर्ण तथा संवेदनशील परिस्थितिका विषयमा समाचार सम्प्रेषण गर्दा संयमता, व्यावसायिकता र पत्रकारिताको आचारसंहिता पालना गर्न अनलाइन टिभी पत्रकार संघ नेपालले सबै सञ्चारकर्मीलाई आह्वान गरेको छ।
संघले विशेषगरी घटनास्थलबाट प्रत्यक्ष रिपोर्टिङ गर्ने पत्रकार तथा डिजिटल मिडियामार्फत समाचार, भिडियो, लाइभ र सामाजिक सञ्जालका सामग्री उत्पादन गर्ने सञ्चारकर्मीलाई थप जिम्मेवार र सचेत बन्न आग्रह गरेको छ।
संघका महासचिव पवन फुयालद्वारा जारी अपिलमा घटनाको यथार्थ जानकारी जनसमक्ष पुर्याउनु सञ्चारमाध्यमको महत्वपूर्ण दायित्व भए पनि समाचार तथा सूचना सम्प्रेषणका क्रममा राजनीतिक, धार्मिक, जातीय वा सामाजिक विभाजन र द्वन्द्व बढाउने किसिमका सामग्री प्रस्तुत नगर्न आग्रह गरिएको छ।
अपिलमा उत्तेजक शीर्षक, भ्रामक दृश्य, पुराना तस्बिर वा भिडियोको पुनःप्रयोग, अपुष्ट सूचना, अफवाह तथा अनुमानमा आधारित सामग्री प्रकाशन वा प्रसारण नगर्नसमेत सञ्चारकर्मीलाई अनुरोध गरिएको छ।
पत्रकार मात्र होइन, सामाजिक सञ्जाल प्रयोग गर्ने आम नागरिकलाई पनि संवेदनशील घटनाका विषयमा विचार, धारणा वा सन्देश सार्वजनिक गर्दा संयमता र जिम्मेवारी अपनाउन संघले आग्रह गरेको छ। प्रचलित कानुन तथा पत्रकार आचारसंहिताविपरीत हुने कुनै पनि गतिविधि स्वीकार्य नहुने र त्यस्ता कार्यमा कानुनी कारबाही हुन सक्ने भएकाले सबैलाई जिम्मेवार बन्न संघले अपिल गरेको छ।
त्यसैगरी, प्रेस काउन्सिल नेपाललगायत सम्बन्धित नियामक तथा सरोकारवाला निकायलाई डिजिटल तथा सामाजिक सञ्जालमा प्रकाशित–प्रसारित सामग्रीको प्रभावकारी अनुगमन गर्न पनि संघले अनुरोध गरेको छ।
अनलाइन टिभी पत्रकार संघ नेपालले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै सत्य, तथ्य, सन्तुलन, जिम्मेवारी र सामाजिक उत्तरदायित्वमा आधारित पत्रकारिताप्रति आफ्नो प्रतिबद्धता दोहोर्याएको छ।
संघले संकट र तनावको समयमा पत्रकारिताको भूमिका अझ महत्वपूर्ण हुने उल्लेख गर्दै ‘संवेदनशीलता सधैं हाम्रो सामाजिक उत्तरदायित्व हो’ भन्ने मूल मर्मलाई आत्मसात् गरी जिम्मेवार ढंगले समाचार सम्प्रेषण गर्न सबै सञ्चारकर्मीलाई आह्वान गरेको छ।


















प्रतिक्रिया