बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा


काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको सूचना सार्वजनिक भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादव ले त्यस्ता उत्पादनको बिक्री–वितरण तत्काल रोक्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई कडा निर्देशन दिनुभएको छ।

मन्त्री यादवको निर्देशनपछि विभागले बजार अनुगमनलाई तीव्र बनाउँदै शंकास्पद एक सयभन्दा बढी नक्कली उत्पादन नियन्त्रणमा लिएको जनाएको छ। ती उत्पादनहरूको गुणस्तर र मौलिकता पुष्टि गर्न प्रयोगशालामा परीक्षण भइरहेको विभागले जानकारी दिएको छ।

मन्त्री यादवले उपभोक्ताको स्वास्थ्य र अधिकारसँग प्रत्यक्ष जोडिएको विषय भएकाले नक्कली उत्पादनको बिक्री–वितरणमा कुनै पनि प्रकारको लापरबाही स्वीकार्य नहुने स्पष्ट पार्दै अनुगमनलाई अझ प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ। साथै, दोषी प्रमाणित हुने व्यक्ति वा संस्थामाथि कानुनबमोजिम कडा कारबाही गर्न पनि उहाँले निर्देशन दिनुभएको छ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक मोति सापकोटा ले बजारमा अझै केही नक्कली उत्पादनको बिक्री भइरहेको जानकारी प्राप्त भइरहेकाले विभाग नियमित रूपमा अनुगमनमा सक्रिय रहेको बताउनुभयो।

उहाँका अनुसार नियन्त्रणमा लिइएका उत्पादनहरूको प्रयोगशाला परीक्षण जारी छ। परीक्षण प्रतिवेदनका आधारमा सम्बन्धित उत्पादन तथा संलग्न पक्षमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइनेछ। विभागले उपभोक्तालाई शंकास्पद वा नक्कली उत्पादन देखिएमा सम्बन्धित निकायमा जानकारी गराउन पनि आग्रह गरेको छ।

मन्त्री यादवले उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्ने र बजारमा नक्कली उत्पादन बिक्री–वितरण गर्ने जो–कोहीलाई कानुनबमोजिम कारबाही गरिने स्पष्ट पार्दै बजारलाई स्वच्छ, सुरक्षित र व्यवस्थित बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।