काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका माग पूरा नभएको भन्दै भदौ महिनादेखि देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको छ।
महासंघका महासचिव तुलाबहादुर थापाका अनुसार महासंघको परिषद् बैठकले भदौबाट आन्दोलन सुरु गर्ने निर्णय गरेको हो। आन्दोलनको मिति र कार्यक्रम भने विस्तारित कार्यालय बैठकले तय गर्ने उनले जानकारी दिए।
थापाले भने, “भदौबाट आन्दोलन गर्ने निर्णय भएको छ। आन्दोलनको तिथि र कार्यक्रम विस्तारित कार्यालय बैठकले निर्धारण गर्नेछ।”
महासंघले शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने, शिक्षा नियमावलीको दशौँ संशोधनमा समेटिएका केही प्रावधानप्रति असहमति रहेको जनाएको छ। महासंघका अनुसार संशोधनमा समावेश भएका कतिपय व्यवस्था शिक्षकमैत्री नभएको भन्दै पुनर्विचार आवश्यक छ।
त्यसैगरी शिक्षक सरुवा, विद्यालय कर्मचारी, ईसीडी (प्रारम्भिक बालविकास) शिक्षक तथा अस्थायी प्रकृतिका शिक्षकहरूको उचित व्यवस्थापन गर्नुपर्ने माग पनि महासंघले दोहोर्याएको छ।
मागहरू सम्बोधन नभए भदौदेखि चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने महासंघले जनाएको छ।



















प्रतिक्रिया