बिराटनगर । मोरङ प्रहरीले नेपाल उद्योग परिसंघ (सीएनआई) का केन्द्रीय सदस्य तथा मोरङ व्यापार संघका पूर्वअध्यक्ष प्रकाश मुन्दडाको विराटनगरस्थित निवासमा सोमबार बिहान छापा मारेको छ।
अवैध सामग्री तथा स्रोत नखुलेको रकम घरमा राखिएको भन्ने सूचनाका आधारमा मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालको नेतृत्वमा खटिएको टोलीले खानतलासी गरेको हो। छापाका क्रममा जिल्ला प्रशासन कार्यालय र गोल्छा मोडतर्फ जाने दुवै सडक केही समयका लागि बन्द गरिएको थियो भने सर्वसाधारणको आवतजावत पनि रोकिएको थियो।
मुन्दडा परिवारको देवनरा ग्रुपमार्फत दर्जनौँ उद्योग–व्यवसाय सञ्चालन हुँदै आएका छन्। विशेषगरी चाँदीको खरिद–बिक्री क्षेत्रमा समूहको ठूलो लगानी रहेको छ। प्रहरी स्रोतका अनुसार चाँदी कारोबारमा सम्भावित अनियमितताबारे प्राप्त सूचनाको आधारमा खोजतलास गरिएको हुन सक्ने अनुमान गरिएको छ।
यसअघि पनि मुन्दडा समूहमाथि अवैध हुन्डी कारोबारको आरोप लाग्दै आए पनि त्यस्तो कारोबार गरेको आधिकारिक पुष्टि भने अहिलेसम्म भएको छैन।
प्रहरीले खानतलासीका क्रममा कुनै पनि अवैध सामग्री वा शंकास्पद वस्तु फेला नपरेपछि टोली फिर्ता भएको जनाएको छ। एसपी कवित कटुवालले, “सूचनाअनुसार खानतलासी गरियो, तर कुनै अवैध सामग्री फेला परेन,” भन्दै प्रहरी टोली फर्किएको जानकारी दिए।
यता, नेपाल उद्योग परिसंघ (सीएनआई) कोशीका अध्यक्ष पवनकुमार सारडाले छापा मार्नुको कारणबारे आफूहरूलाई कुनै औपचारिक जानकारी नदिइएको प्रतिक्रिया दिएका छन्।



















प्रतिक्रिया