काठमाडौं – प्रधानमन्त्री बालेन शाह र प्रधानसेनापति अशोकराज सिग्देलबीच मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको छ।
भेटमा मुलुकको समसामयिक सुरक्षा अवस्था, विशेषगरी तराई–मधेशमा पछिल्ला दिनमा विकसित घटनाक्रमबारे छलफल भएको स्रोतले जनाएको छ। सुनसरी घटनापछि विभिन्न जिल्लामा उत्पन्न सुरक्षा चुनौती र त्यसको व्यवस्थापनबारे पनि दुई पक्षबीच विचारविमर्श भएको बताइएको छ।
यसैबीच, काठमाडौंको गोकर्णेश्वरस्थित नेपाली सेनाको ब्यारेक परिसरको पर्खाल डोजर लगाएर भत्काउन खोजिएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उक्त विषयले पनि चर्चा पाएको छ। भिडियोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राजुनाथ पाण्डे डोजर नरोकिने भन्दै निर्देशन दिएको देखिन्छ भने नेपाली सेनाका एक क्याप्टेनले आवश्यक प्रक्रिया पूरा गरेर मात्रै काम अघि बढाउन आग्रह गरेको सुनिन्छ।
घटनापछि प्रधानमन्त्री र प्रधानसेनापतिबीच भएको भेटलाई उक्त घटनासँग पनि जोडेर चर्चा गरिए पनि नेपाली सेनाले त्यसको पुष्टि गरेको छैन।
नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले भने प्रधानमन्त्री हाल रक्षामन्त्रीको जिम्मेवारीसमेत सम्हालिरहेको उल्लेख गर्दै यो नियमित भेटघाट र ब्रिफिङको हिस्सा भएको बताएका छन्।
सेनाले गोकर्णेश्वरस्थित ब्यारेकको पर्खाल भत्किएको घटनाबारे सम्बन्धित निकायसँग तथ्य बुझ्ने काम भइरहेको जनाएको छ। सैनिक स्रोतका अनुसार पर्खालको केही भागमा क्षति पुगेको छ र घटनाको वास्तविकता बुझ्ने प्रक्रिया जारी छ।
गत साउन १० गते सुनसरीको कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपपछि उत्पन्न सुरक्षा अवस्थाका कारण नेपाली सेना समेत परिचालन गरिएको थियो। सोही घटनापछि विकसित समग्र सुरक्षा अवस्थाबारे पनि प्रधानमन्त्री र प्रधानसेनापतिबीच छलफल भएको बताइएको छ।



















प्रतिक्रिया