विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’को अन्तिम बिदाइ लन्डनमा


काठमाडौं । पाकिस्तानको ब्रड पिकमा गएको भीषण हिमपहिरोमा परी निधन भएका विश्वविख्यात नेपाली पर्वतारोही नि ‘निम्स दाइ’को अन्तिम बिदाइ बेलायतको लन्डनमा गरिने भएको छ।

गत साउन १४ गते ब्रड पिक आरोहणका क्रममा १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोलीको नेतृत्व गरिरहेका बेला आएको हिमपहिरोमा परी उनको निधन भएको थियो। परिवार लन्डनमा बसोबास गर्दै आएकाले धार्मिक परम्पराअनुसार उतै अन्त्येष्टि गर्ने तयारी गरिएको हो।

स्वर्गीय पुर्जाको शव साउन १७ गते पहिचान भए पनि प्रतिकूल मौसम र शव अत्यन्तै जोखिमपूर्ण स्थानमा रहेकाले बुधबार मात्रै कठिन उद्धार अभियानमार्फत बेसक्याम्पमा ल्याउन सफल भएको उनको कम्पनीले जनाएको छ।

पुर्जाका दाजु कमलबहादुर पुर्जाका अनुसार अन्त्येष्टिपछि जन्मभूमि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना तथा उनले बाल्यकाल बिताएको चितवनमा समेत उनको सम्झनामा विभिन्न कार्यक्रम गरिनेछ।

एलिट एक्सपिडिसनले जारी गरेको विज्ञप्तिअनुसार निर्मल पुर्जासहित निमा शेर्पा, झोङ वाङ र किलु शेर्पाको शव सुरक्षित रूपमा बेसक्याम्पमा ल्याइएको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव शुक्रबार राति वा शनिबारसम्म लन्डन पुर्‍याउने तयारी गरिएको छ।

उद्धार अभियानमा पाकिस्तान सरकार, पाकिस्तान आर्मी, ब्रिटिस हाइ कमिसन, गिल्गिट–बाल्टिस्तान सरकार, नेपाल दूतावास तथा अल्पाइन क्लब अफ पाकिस्तानको महत्वपूर्ण सहयोग रहेको जनाइएको छ।

सन् २००३ मा पोखरास्थित ब्रिटिस क्याम्पमार्फत ब्रिटिस सेनामा छनोट भएका पुर्जाले बेलायतमा सैनिक तालिम पूरा गरी क्विन्स गोर्खा इन्जिनियर्समा सेवा गरेका थिए। पछि बेलायतको रक्षा मन्त्रालयमा माउन्टेन विज्ञका रूपमा कार्यरत रहँदै उनले ‘गोर्खा एक्सपिडिसन २०१७’ को नेतृत्व समेत गरेका थिए।

सगरमाथामा जोखिममा परेका एक आरोहीको सफल उद्धार गरेपछि उनले बेलायती महारानीबाट प्रतिष्ठित एमबीई सम्मान प्राप्त गर्ने पहिलो नेपालीको इतिहास रचेका थिए।

निर्मल पुर्जाले अतिरिक्त अक्सिजनबिनै ८ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटै हिमाल सबैभन्दा छोटो समयमा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए। केटु हिमालमा समेत दुर्लभ कीर्तिमान बनाएका उनका नाममा १८ वटा गिनिज वर्ल्ड रेकर्ड दर्ता छन्। उनको असामयिक निधनले नेपालसहित विश्व पर्वतारोहण समुदाय शोकमा डुबेको छ।