अविरल वर्षाले ८ प्रमुख सडक पूर्णरूपमा अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह


काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार आज देशभरका ८ वटा सडक पूर्णरूपमा बन्द भएका छन्।

पूर्णरूपमा अवरुद्ध हुने सडकमा मेची राजमार्ग, बी.पी. राजमार्ग, मध्य पहाडी लोकमार्ग, कालीगण्डकी कोरिडोर, पृथ्वी राजमार्ग, अरनिको राजमार्ग लगायतका विभिन्न सडक खण्ड रहेका छन्।

प्रहरीका अनुसार इलामको राजदुवाली क्षेत्र, चितवनको इच्छाकामना गाउँपालिका–५, ललितपुरको बागमती गाउँपालिका–३ (पाण्डुर), मकवानपुरको ठिंगन खण्ड तथा काभ्रेको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्।

त्यसैगरी मध्य पहाडी लोकमार्ग अन्तर्गत पूर्वी रुकुमको भुमे गाउँपालिका, भेरी कोरिडोर (रुकुम पश्चिम), नाग्म–गमगढी सडक (मुगु) तथा नाग्म सडक खण्ड (जुम्ला) मा बाढी र पहिरोका कारण सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको प्रहरीले जनाएको छ।

नेपाल प्रहरीले अत्यावश्यक बाहेकको यात्रा नगर्न, यात्रा गर्नुपरेमा सम्बन्धित जिल्ला प्रशासन, ट्राफिक प्रहरी वा स्थानीय निकायबाट सडक अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।