काठमाडौं । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–८, तावलेस्थित मध्यपहाडी लोकमार्गमा टाटा विङ्गर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम भाग) का अनुसार बिहीबार अपराह्न करिब ५:५५ बजे जिल्ला कारागार कार्यालय रुकुम (पश्चिम भाग) का कैदी/थुनुवालाई जिल्ला अदालत रुकुम (पूर्वी भाग) बाट फर्काउँदै गरेको बा.प्र.०३००१ च ३१५५ नम्बरको टाटा विङ्गर र विपरीत दिशाबाट आउँदै गरेको क.प्र.०२–००१ प ७९८६ नम्बरको २२० सीसी पल्सर मोटरसाइकल एकआपसमा ठोक्किएका हुन्।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार मुसिकोट नगरपालिका–२ का १८ वर्षीय निवास बोहोरा गम्भीर घाइते भएका थिए। उपचारका लागि स्वास्थ्य सेवा कार्यालय सल्ले पुर्याइएपछि चिकित्सकले साँझ ६:३० बजे मृत घोषणा गरेका प्रहरीले जनाएको छ।
मोटरसाइकल चालक आठबिसकोट नगरपालिका–१० का २० वर्षीय गणेश शाही गम्भीर घाइते भएका छन्। उनलाई थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल, कालागाउँ (सुर्खेत) रिफर गरिएको छ।
दुर्घटनामा संलग्न टाटा विङ्गरका चालक मुसिकोट नगरपालिका–२ का ५२ वर्षीय टेकबहादुर पुन लाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम भाग) ले जनाएको छ।




















प्रतिक्रिया