विशेष महाधिवेशनको वैधानिकता पुष्टि गर्न फेरि अवसर प्राप्त गरेका छौं : गगन थापा


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेससँग सम्बन्धित विषयमा सर्वोच्च अदालतबाट आएको आदेशबारे पार्टीको आधिकारिक धारणा केन्द्रीय समिति बैठकमार्फत सार्वजनिक गर्ने बताएका छन्।

पार्टी निकट आदिवासी जनजाति महासङ्घको सम्मेलनलाई काठमाडौंमा सम्बोधन गर्दै थापाले सर्वोच्चको आदेशबाट उत्पन्न प्रश्नबारे साउन २४ गते बस्ने केन्द्रीय समिति बैठकमा गहन छलफल गरी पार्टीको धारणा तय गरिने बताए।

थापाले कांग्रेसको विधानअनुसार पार्टीका सार्वभौम सदस्यहरूले विशेष महाधिवेशन आयोजना गरेको र त्यसको वैधानिकता विशेष महाधिवेशनको हल, निर्वाचन आयोग तथा सर्वोच्च अदालतको संयुक्त इजलासबाट पुष्टि भइसकेको दाबी गरे।

उनले विशेष महाधिवेशनको वैधानिकताबारे अदालतको प्रक्रियामा सहभागी भएर आफूहरूले वैधानिक कामको प्रतिरक्षा गर्ने बताए।

‘अदालतको प्रक्रियामा सहभागी हुनु हाम्रो कर्तव्य हो। हामी सहभागी हुन्छौँ र सानका साथ वैधानिक कामको प्रतिरक्षा गर्छौं,’ थापाले भने।