ग्यास अभावप्रति सांसद रमेश प्रसाईंको प्रधानमन्त्री र मन्त्रीहरू माथि प्रश्न


काठमाडौं । देशभर खाना पकाउने एलपी ग्यासको अभाव भएपछि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रमेश प्रसाईंले सरकारको ध्यानाकर्षण गराएका छन्।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै प्रसाईंले प्रधानमन्त्री तथा मन्त्रीहरूको सरकारी क्वाटरमा समेत ग्यासको अभाव छ कि छैन भन्दै सरकारलाई प्रश्न गरे।

उनले रास्वपा सरकारमा आएपछि सरकारी सेवामा ‘नो लाइन, वानली अनलाइन’ भन्ने प्रतिबद्धता जनाएको स्मरण गर्दै अहिले ग्यासका लागि सर्वसाधारणले दिनभर, रातभर र मध्यरातसम्म लाइन बस्नुपर्ने अवस्था आएको भन्दै असन्तुष्टि व्यक्त गरे।

‘भात पकाउने ग्यासका लागि जनता दिनभर र रातभर, मध्यरातसम्म लाइनमा बसेको दृश्यले मलाई चाहिँ साँच्चिकै लाज लागेको छ,’ उनले भने।

प्रसाईंले देशभर ग्यासको अभाव रहेको दाबी गर्दै यो समस्या कृत्रिम रूपमा सिर्जना गरिएको हो भने कालोबजारी गर्नेलाई कारबाही गर्न सरकारलाई कसले रोकेको भन्दै प्रश्न गरे।

उनले भने, ‘प्रधानमन्त्री र मन्त्री क्वाटरमा ग्यासको अभाव छ कि छैन ? यदि कृतिम अभाव सिर्जना भएको हो भने सरकारले भनेजस्तै ग्यास ह्वारह्वारती आएर पनि कालोबजारी भएको हो भने ती कालोबजारी गर्नेहरूलाई कठघरामा ल्याएर कठोर दण्ड दिन केले रोकेको छ दुईतिहाइको सरकारलाई?’