तीन महिनादेखि बन्द रिपोर्टर्स क्लब, अध्यक्ष धमलाद्वारा सरकारको ध्यानाकर्षण


काठमाडौं । भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लब नेपाल तीन महिनादेखि बन्द रहेको भन्दै क्लबका अध्यक्ष तथा सञ्चालक ऋषि धमलाले सरकारको ध्यानाकर्षण गराएका छन्।

शनिबार क्लब परिसरबाहिर आयोजित पत्रकार सम्मेलनमा धमलाले सम्झौताअनुसार समाज कल्याण परिषद्लाई तिर्नुपर्ने रु. ३८ हजार ७ सय २१ भाडा रकम बुझाएको एक महिना बितिसक्दा पनि क्लबमा लगाइएको ताला नखोलिएको बताए।

धमलाले रिपोर्टर्स क्लबले नेपालको लोकतान्त्रिक आन्दोलन तथा गणतन्त्र स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेको दाबी गरे। राजाको शासनकालमा समेत क्लब बन्द नभएको स्मरण गर्दै उनले अहिले क्लब बन्द हुनुपर्ने अवस्था आउनु दुःखद् भएको बताए।

उनले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारप्रति आफू सकारात्मक रहेको स्पष्ट पारे। काठमाडौं महानगरपालिकाको मेयर हुँदा पनि आफूले शाहलाई साथ दिएको र अहिले प्रधानमन्त्री बनेपछि भ्रष्टाचार नियन्त्रण तथा सुशासन कायम गर्ने अभियानमा पनि आफ्नो पूर्ण समर्थन रहेको धमलाले बताए।

“बालेनजी मेयर हुँदा पनि साथ दिएँ, आज प्रधानमन्त्री हुँदा पनि भ्रष्टाचारीलाई कारबाही गर्न र सुशासन कायम गर्न मेरो पूरा साथ छ,” धमलाले भने, “तर आज जनताको आवाज बुलन्द गर्ने रिपोर्टर्स क्लब नै बन्द छ।”

रिपोर्टर्स क्लबले विभिन्न आन्दोलन तथा राजनीतिक घटनाक्रममा नागरिकका आवाज सम्बन्धित निकाय र जनतामाझ पुर्‍याउँदै आएको उनले बताए।

जेनजी आन्दोलनका क्रममा वर्तमान गृहमन्त्री सुधन गुरुङसहितका जेनजी अभियन्ताहरूलाई समेत आफ्ना माग, धारणा र आवाज जनतामाझ पुर्‍याउन क्लबले महत्वपूर्ण सहयोग गरेको धमलाले स्मरण गरे।

कोरोना महामारीका क्रममा क्लब दुई महिनासम्म बन्द रहँदा सरकारले भाडा तिर्न नपर्ने बताए पनि आफूहरूले सम्झौताअनुसार भाडा तिरेको उनले बताए।

“कोरोनाको समयमा दुई महिना क्लब बन्द भयो। सरकारले भाडा तिर्नुपर्दैन भनेको थियो, तर हामीले भाडा तिर्‍यौँ,” उनले भने।

धमलाले रिपोर्टर्स क्लबलाई तत्काल सञ्चालनमा ल्याउने वातावरण बनाउन सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरेका छन्। क्लब बन्द हुँदा पत्रकार, सञ्चारकर्मी तथा नागरिकका आवाज अभिव्यक्त गर्ने महत्वपूर्ण सार्वजनिक थलो प्रभावित भएको उनको भनाइ छ।