कर तिर्ने करदाताको सधैं सम्मान हुनुपर्छ : रवि लामिछाने


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सबैभन्दा धेरै कर तिर्ने करदातालाई राज्यले सधैं सम्मान गर्नुपर्ने बताएका छन्।

नेपाली युवा उद्यमी मञ्च (NYEF) को २२औँ वार्षिक साधारणसभामा प्रमुख अतिथिका रूपमा सहभागी लामिछानेले उद्यमी तथा व्यवसायीले करमार्फत राज्यलाई महत्वपूर्ण योगदान गरिरहेको भन्दै उनीहरूलाई प्रोत्साहन र सम्मान गर्ने वातावरण बनाउनुपर्ने बताएका हुन्।

सरकारले चार महिनामा पनि उल्लेखनीय काम गर्न नसकेको भन्दै प्रश्न उठ्न थालेको प्रसंग उल्लेख गर्दै लामिछानेले सरकारले बिस्तारै काम गरिरहेको दाबी गरे। आगामी दिनमा अझ राम्रो परिणाम देखिने गरी सरकार अघि बढिरहेको उनको भनाइ थियो।

सरकारले आफूले गरेका प्रतिबद्धता पूरा गर्ने दाबी गर्दै लामिछानेले सरकार आफ्नो बाटोबाट विचलित भए निगरानी र खबरदारी गर्ने राजनीतिक शक्ति आफूहरूसँग रहेको बताए।

सरकारले गलत बाटो लिए त्यसलाई रोक्न आफूहरूसँग आवश्यक दबाब सिर्जना गर्ने क्षमता रहेको उल्लेख गर्दै उनले भने, “सरकार आफ्नो बाटोबाट विचलित भयो भने कान समाउन सक्ने क्षमता हामीसँग छ।”

सरकार युवा लक्षित रहेको दाबी गर्दै लामिछानेले युवाहरूलाई देशमै केही गर्न ढुक्क भएर अघि बढ्न आग्रह गरे। विदेश जानुपर्ने बाध्यताको अन्त्य गर्दै स्वदेशमै उद्यम, व्यवसाय र रोजगारी सिर्जना गर्ने वातावरण बनाउन सरकार केन्द्रित रहेको उनले बताए।

युवाहरूले देशमै सम्भावना खोजेर अघि बढे राज्यले सहयोग गर्ने बताउँदै लामिछानेले उद्यमशीलतामार्फत मुलुकको अर्थतन्त्र बलियो बनाउन युवाहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे।