चार महिनापछि भारतीय र चिनियाँ राजदूतसँग भेट्दै प्रधानमन्त्री बालेन


काठमाडौं – प्रधानमन्त्री बालेन शाहले नेपालका लागि भारतीय र चिनियाँ राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने भएका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले सोमबार बिहान ११ बजे भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेटवार्ता गर्नेछन्। त्यस्तै, दिउँसो ३ बजे चिनियाँ राजदूत झाङ माओमिङसँग भेट गर्ने कार्यक्रम तय भएको छ।

प्रधानमन्त्री शाहले दुवै राजदूतसँग एक्लाएक्लै भेटवार्ता गर्ने तयारी गरेका छन्। चैत १३ गते प्रधानमन्त्रीको शपथ लिएका शाहले करिब चार महिनापछि पहिलोपटक भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्न लागेका हुन्।

यसअघि चैत २५ गते प्रधानमन्त्री शाहले नेपालमा रहेका विभिन्न मुलुकका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेटवार्ता गरेका थिए।

यसबीच प्रधानमन्त्री शाहले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण एसिया मामिला हेर्ने प्रमुख दूत तथा भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरसँग भेट गर्न अस्वीकार गरेको दाबीसमेत सार्वजनिक भएको छ।

त्यस्तै, प्रधानमन्त्रीसँग भेटवार्ताको समय तय हुन नसकेपछि भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमणसमेत अन्तिम समयमा रद्द भएको बताइएको छ।

भारत र चीनका राजदूतसँग हुन लागेको छुट्टाछुट्टै भेटवार्तालाई प्रधानमन्त्री शाहको आगामी कूटनीतिक प्राथमिकता र दुई छिमेकी मुलुकसँगको सम्बन्धका दृष्टिले अर्थपूर्ण रूपमा हेरिएको छ।