काठमाडौं – गृहमन्त्री सुधन गुरुङले सुरक्षा, सीमा, धार्मिक तनाव तथा नागरिकका समस्यालाई सिंहदरबारमा बसेर मात्रै समाधान गर्न नसकिने बताएका छन्।
सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा सुरक्षा ब्रिफिङका फाइल, ज्ञापनपत्र र छलफलका नोटसँगै सुस्ताबाट ल्याइएको माटोको एउटा सानो हन्डी राखेका गृहमन्त्री गुरुङले त्यसलाई सीमावासीको पीडा र राष्ट्रिय सीमाको प्रश्न सम्झाउने चिनोका रूपमा राखेको बताएका छन्।
‘गृहमन्त्री रहुञ्जेल यो पनि यहीं रहन्छ,’ उनले भने।
सीमा सुरक्षा, धार्मिक तनाव, प्रहरी सुधार र दंगा नियन्त्रणलगायत विषयमा सरकारले गम्भीरतापूर्वक काम गरिरहेको दाबी गर्दै गुरुङले संकटका बेला सरकारको उपस्थिति फिल्डमै देखिनुपर्ने बताए।
हालैको धार्मिक तनावको घटनाबारे उनले केन्द्रबाटै नियन्त्रणको रणनीति बनाइरहेको अवस्थामा घटना तीव्र रूपमा फैलिएको बताए। ‘रणनीति बनाउँदै गर्दा घटना सल्किसकेको थियो। त्यसपछि आगोको झिल्को डढेलोमा परिणत नहोस् भनेर राष्ट्रियस्तरमै नियन्त्रण गर्ने रणनीति बनाउन केही समय लाग्यो,’ उनले भने।
घटनास्थलमा आफू तत्काल नपुगेको विषयमा उठेका प्रश्नको जवाफ दिँदै गुरुङले त्यहाँ सरकारका प्रतिनिधिका रूपमा स्वास्थ्यमन्त्री उपस्थित रहेको र घाइतेको उपचार तथा नागरिक सुरक्षाका लागि निरन्तर काम भइरहेको बताए।
उनका अनुसार घटनाका बेला राति १२ बजेसम्म बैठक बसेर सुरक्षा अवस्थाबारे छलफल र आवश्यक रणनीति बनाइएको थियो। तर नागरिकस्तरबाट गृहमन्त्री स्वयं घटनास्थल पुग्नुपर्ने अपेक्षा बढेपछि आफू पीडित परिवार तथा घाइतेलाई भेट्न फिल्डमा गएको उनले बताए।
गुरुङले ‘सिंहदरबारको चार भित्ताभित्र बसेर कसैको भविष्य कोर्ने अधिकार हामीलाई छैन, फिल्डमा जानुपर्छ’ भन्दै आफू नागरिकका समस्या प्रत्यक्ष बुझ्न र समाधानका लागि मैदानमै पुग्ने पक्षमा रहेको स्पष्ट पारे।
उनको भनाइमा सरकारको जिम्मेवारी केवल निर्णय गर्ने मात्र नभई संकटमा परेका नागरिकको बीचमा पुगेर उनीहरूको पीडा सुन्ने र राज्यको उपस्थितिको अनुभूति गराउने पनि हो।



















प्रतिक्रिया