नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ सुरु, ५५ ब्रान्ड र ४० भन्दा बढी नयाँ मोडल प्रदर्शनमा


काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको दोस्रो संस्करणको नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ आजदेखि काठमाडौंमा सुरु भएको छ।

भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा आयोजना गरिएको एक्स्पोको उद्घाटन प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले गरेका हुन्।

साउन ३१ गतेसम्म सञ्चालन हुने एक्स्पो गत वर्षभन्दा थप भव्य र व्यवस्थित हुने आयोजकले जनाएको छ। एक्स्पो संयोजक गौरव शारडाका अनुसार यसपटक अटोमोबाइल क्षेत्रका नयाँ प्रविधि, उत्पादन र मोबिलिटी समाधानलाई विशेष प्राथमिकता दिइएको छ।

नाइमा एक्स्पोमा ५५ वटा अटोमोबाइल ब्रान्ड सहभागी हुनेछन् भने ४० भन्दा बढी नयाँ मोडलका सवारीसाधन सार्वजनिक तथा लन्च गरिने आयोजकले जनाएको छ।

एक्स्पोमा दुईपांग्रे तथा चारपांग्रे सवारीसाधनसँगै कमर्सियल भेहिकल, विद्युतीय तथा हाइब्रिड मोबिलिटी सोलुसन, अत्याधुनिक प्रविधि, सेवा तथा मोबिलिटीसम्बन्धी विभिन्न उत्पादन प्रदर्शनमा राखिएका छन्।

भृकुटीमण्डपको प्रदर्शनी हलमा ५१ भन्दा बढी स्टल निर्माण गरिएको छ। एक्स्पोमा हुन्डाई, बीवाईडी, निसान, टाटा, टोयोटा, किया र महिन्द्रालगायत चर्चित अटोमोबाइल ब्रान्डको सहभागिता रहेको आयोजकले जनाएको छ।

आयोजकका अनुसार एक्स्पोले नेपालमा अटोमोबाइल तथा मोबिलिटी क्षेत्रमा भित्रिँदै गरेका नयाँ प्रविधि र विद्युतीय तथा हाइब्रिड सवारीसाधनबारे उपभोक्तालाई प्रत्यक्ष जानकारी लिन अवसर प्रदान गर्नेछ।