चार महिनामै सरकारले चमत्कार गरेर देश परिवर्तन गर्नुपर्छ भन्ने अपेक्षा व्यावहारिक नहुने – ज्ञानेन्द्र शाही


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारलाई विकासका लागि पर्याप्त समय दिनुपर्ने बताएका छन्। तर भ्रष्टाचारका ठूला काण्डमा अनुसन्धान र कारबाही गर्न भने समयको बहाना बनाउन नहुने उनको भनाइ छ।

शाहीले बुधबार आफ्नो फेसबुक वालमार्फत चार महिनामै सरकारले चमत्कार गरेर देश परिवर्तन गर्नुपर्छ भन्ने अपेक्षा व्यावहारिक नभएको बताएका हुन्।

उनले ३५ वर्षमा हुन नसकेको विकास चार महिनामै गरिहाल्नुपर्छ भन्ने अपेक्षा गर्नु उचित नहुने भन्दै विकासका लागि सरकारलाई केही समय दिनुपर्ने बताएका छन्।

तर भ्रष्टाचारका ठूला काण्डमा संलग्न भनिएका मुख्य व्यक्तिमाथि अनुसन्धान र कानुनी कारबाही सुरु गर्न भने वर्षौं कुर्न आवश्यक नरहेको शाहीको तर्क छ।

उनले देशका ६५ वटा ठूला भ्रष्टाचार काण्डका मुख्य नायकमध्ये अहिलेसम्म प्रभावकारी रूपमा कारबाहीमा परेको कोही नदेखिएको दाबी गरेका छन्। अहिलेसम्म पक्राउ परेकामध्ये गृहमन्त्रीका व्यापारिक साझेदार भनिएका दीपक भट्ट मात्रै रहेको उनले उल्लेख गरेका छन्।

“विकासका लागि समय लिनुस्, तर भ्रष्टाचारको अनुसन्धान गर्न समयको बहाना नबनाउनुस्,” शाहीले भनेका छन्।