काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा सम्पादन गरेका कार्यहरू समेटिएको वार्षिक प्रतिवेदन प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष पेश गरेको छ।
केन्द्रका अनुसार गत आर्थिक वर्षमा प्राप्त २ हजार ५ सय ६६ उजुरीमध्ये १ हजार ८ सय ५४ वटा अर्थात् ७२ प्रतिशत उजुरी फर्छ्योट भएका छन्। फर्छ्योट भएका उजुरीमा अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ४ सय २९ उजुरीसमेत समावेश छन्।
त्यस्तै, केन्द्रले देशभरका १ हजार ५ सय ७७ सरकारी कार्यालयमा छड्के अनुगमन गरेको थियो। अनुगमनका क्रममा समय पालना नगर्ने ९ हजार ६ सय ९७ र तोकिएको पोशाक नलगाउने १ हजार ४ सय ४ गरी ११ हजार १ सय १ कर्मचारीलाई कारबाहीका लागि सम्बन्धित निकायमा लेखी पठाइएको जनाएको छ।
केन्द्रले सरकारी कार्यालयमा आचारसंहिता पालना, फाइल ट्रयाकिङ, सरकारी सवारी साधनको प्रयोग तथा बिचौलिया नियन्त्रणलगायतका विषयमा समेत नियमित निगरानी गर्दै आएको छ।
सार्वजनिक पदमा रहेका व्यक्तिले सम्पत्ति विवरण बुझाउनुपर्ने कानुनी व्यवस्थाको कार्यान्वयनमा पनि केन्द्रले सक्रियता देखाएको छ। आर्थिक वर्ष २०८१/८२ मा ७ लाख ६७ हजार ३३ जनाले सम्पत्ति विवरण बुझाउँदा ५ हजार २ सय ६५ जनाले विवरण नबुझाएको केन्द्रले जनाएको छ।
केन्द्रले राष्ट्रिय गौरव तथा ठूला आयोजनाको प्राविधिक परीक्षणसमेत गरेको छ। नियमित अनुगमन गरिएका १८४ तथा प्राविधिक विश्लेषण गरिएका ६ आयोजनामा देखिएका कमीकमजोरी र जोखिम पहिचान गरी सुधारका लागि सम्बन्धित निकायलाई जानकारी गराइएको छ।
सेवा प्रवाहमा सुधार ल्याउन केन्द्रले ‘सार्वजनिक सेवा सन्तुष्टि मापन फारम’को क्यूआर कोडसमेत सञ्चालनमा ल्याएको छ। साथै, भ्रष्टाचारविरुद्ध जनचेतना अभिवृद्धि गर्न जिल्ला तथा स्थानीय तहसम्म सदाचार शिक्षा र सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको जनाएको छ।
केन्द्रले सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार नियन्त्रणका लागि सरकारी निकाय, सरोकारवाला संस्था र नागरिक समाजसँग सहकार्य गर्दै आगामी दिनमा आफ्नो कार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।





















प्रतिक्रिया