शिक्षा ऐन ल्याउनुअघि सातै प्रदेशमा ‘शिक्षा संवाद’ गर्दै मन्त्रालय


काठमाडौं । शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातै प्रदेशमा पुगेर शिक्षा क्षेत्रका सरोकारवालासँग प्रत्यक्ष छलफल गर्ने भएको छ।

मन्त्रालयले सुरु गर्न लागेको ‘शिक्षा संवाद’ अभियानअन्तर्गत पहिलो कार्यक्रम शनिबार विराटनगरमा आयोजना हुँदैछ।

अभियानअन्तर्गत विराटनगर, जनकपुर, हेटौँडा, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा कार्यक्रम सञ्चालन गरिनेछ।

छलफलमा स्थानीय तहका शिक्षा प्रतिनिधि, शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावक लगायत शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाको सहभागिता रहनेछ। उनीहरूबाट प्रस्तावित शिक्षा ऐनका विषयमा सुझाव तथा धारणा संकलन गरिने मन्त्रालयले जनाएको छ।

शिक्षा क्षेत्रका समस्या, आवश्यकता र सुधारका विषयमा प्रत्यक्ष सुझाव लिएर प्रस्तावित शिक्षा ऐनलाई थप प्रभावकारी बनाउने उद्देश्यले ‘शिक्षा संवाद’ अभियान सञ्चालन गर्न लागिएको हो।