सर्वोच्चबाट रिहा आदेश पाएका किशोर श्रेष्ठविरुद्ध फेरी उपसभामुखको जाहेरी


काठमाडौँ – उपसभामुख रुबीकुमारी ठाकुरले पत्रकार किशोर श्रेष्ठविरुद्ध जिल्ला प्रहरी परिसर, ललितपुरमा जाहेरी दिएकी छन्।

प्रहरी परिसर ललितपुरका एसएसपी तुलबहादुर कार्कीले श्रेष्ठविरुद्ध जाहेरी परेको पुष्टि गरेका छन्। उनले जाहेरी प्राप्त भए पनि आफू बाहिर रहेकाले त्यसबारे विस्तृत अध्ययन गर्न बाँकी रहेको बताए।

रोचक संयोग के छ भने, श्रेष्ठलाई आजै सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको थियो। जनआस्था अनलाइनमा प्रकाशित एक समाचार तथा तस्वीरका कारण वैयक्तिक गोपनीयताको हक हनन भएको आरोपमा प्रहरीले उनलाई गत साउन २७ गते पक्राउ गरेको थियो।

त्यसपछि श्रेष्ठलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको थियो।

सर्वोच्च अदालतले भने श्रेष्ठले समाचारमा प्रयोग गरेको तस्वीर जाहेरवालाले नै सामाजिक सञ्जालमा सार्वजनिक गरेको देखिएको र उक्त तथ्यलाई विपक्षीले खण्डन गर्न नसकेको भन्दै उनलाई रिहा गर्न परमादेश जारी गरेको हो।

सर्वोच्चको रिहाइ आदेशपछि हिरासतबाट बाहिरिने तयारी भइरहेका बेला उपसभामुख ठाकुरले श्रेष्ठविरुद्ध पुनः प्रहरीमा जाहेरी दिएपछि यो प्रकरण थप चर्चामा आएको छ।