काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले चालु आर्थिक वर्षमा सरकारका मुख्य काम, प्राथमिकता र उपलब्धि सुनिश्चित गर्ने उद्देश्यले मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गर्नुभएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री शाह र मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर तथा सम्झौताको प्रति आदानप्रदान गरिएको हो। सम्झौतामा सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित लक्ष्य तथा उपलब्धिलाई प्राथमिकता दिइएको छ।


प्रधानमन्त्री शाहले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराज भक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ, कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनसँग कार्यसम्पादन सम्झौता गर्नुभएको छ।

त्यस्तै, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सिता बादी, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना, कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले पनि प्रधानमन्त्रीसँग कार्यसम्पादन सम्झौता गर्नुभएको छ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्साल अस्वस्थ हुनुभएकाले तथा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव संसद्को बैठकमा सहभागी हुनुपर्ने भएकाले कार्यक्रममा उपस्थित हुन सक्नुभएन।

यसैबीच, प्रधानमन्त्री शाहसँग नेपाल सरकारका मुख्यसचिव गोविन्दबहादुर कार्कीले पनि कार्यसम्पादन सम्झौता गर्नुभएको छ। सम्झौतामार्फत सरकारका प्राथमिकता र लक्ष्यलाई समयसीमासहित कार्यान्वयनमा लैजाने तथा मन्त्रालयहरूको कामको प्रभावकारिता र जवाफदेहिता बढाउने उद्देश्य राखिएको छ।























प्रतिक्रिया