काठमाडौँ । कलाकार तथा सामाजिक अभियन्ता सीताराम कट्टेल ‘धुर्मुस’ दुई महिनाको नेपाल बसाइपछि पुनः अमेरिका फर्किएका छन्। आफ्नै देशमा न्याय पाउने र मातृभूमिमै बसेर दुःख–सुख साट्ने सपना बोकेर छोरीसहित नेपाल फर्किएका धुर्मुसले आफूले राज्यका विभिन्न निकायमा पुगेर समस्या समाधानका लागि अथक प्रयास गरे पनि न्याय नपाएको गुनासो गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा भावुक स्टाटस लेख्दै धुर्मुसले आफू दुई महिनासम्म राज्यका ढोका–ढोका पुगेको र न्यायको आशामा राज्यलाई गुहारेको बताएका छन्। तर आफ्नो आवाज सुनुवाइ नभएको तथा आफ्नो पीडा मन खोलेर सुनाउने अवसरसमेत नपाएको उनको भनाइ छ।

समस्या समाधान हुनुको साटो भरतपुर महानगरपालिकाबाट विनियोजित १५ करोड रुपैयाँको बजेटसमेत फ्रिज हुने अवस्था आएको उनले उल्लेख गरेका छन्।
“१८ करोड ४३ लाखको भारी, अधुरा सपना र मनभरिको पीडा बोकेर आफ्नै मातृभूमिबाट फेरि फर्किन बाध्य भएको छु,” धुर्मुसले लेखेका छन्, “आफ्नै देशमा न्याय खोज्दा आफ्नै आवाज बेवारिसे भएको अनुभूति भएको छ।”
१० वर्ष आफ्नो उर्वर समय समाज र राष्ट्रका लागि समर्पण गरेको उल्लेख गर्दै उनले देशमा इमानदारीपूर्वक केही गरौँ र आफ्नै माटोलाई केही दिऔँ भन्ने सपना देख्नेहरूको नियति यस्तै हुने हो कि भन्ने प्रश्नसमेत गरेका छन्।
नेपालबाट पुनः विदेश फर्किनुपर्दा मन निकै भारी भएको बताउँदै उनले ओठ कापेको र आँखा रसाएको उल्लेख गरेका छन्। यद्यपि, आफूभित्र आशा अझै बाँकी रहेको उनको भनाइ छ।
कुनै दिन राज्यले आफ्नो पीडा सम्झिने, समयले सत्य बोल्ने र आफूहरूको संघर्षको मूल्य बुझिने विश्वास व्यक्त गर्दै धुर्मुसले आफ्ना शुभेच्छुकहरूलाई चाँडै फेरि भेट हुने आश्वासन दिएका छन्।
उनको यो अभिव्यक्तिले नेपालमा सामाजिक अभियान र पूर्वाधार निर्माणका क्रममा उत्पन्न आर्थिक तथा व्यवस्थापकीय विवाद समाधान नभएकोप्रति उनको असन्तुष्टि झल्काएको छ।






















प्रतिक्रिया