काठमाडौं – बाराको सिमरामा हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका आमा–बुवालाई गृहमन्त्री सुधन गुरुङसँग वार्ता गर्न काठमाडौं लगिएको छ।
शनिबार अपराह्न सिमरा विमानस्थलबाट गरिमाका बुवा मनोज चौधरी र आमा मानमती चौधरीलाई स्थानीय अभियन्तासहित काठमाडौं पठाइएको हो। उनीहरूसँग स्थानीय अभियन्ता कपिल खरेल, सम्राट उपाध्याय, नवराज कार्कीलगायत सात जनाको टोली पनि काठमाडौं गएको छ।
गरिमाका आमा–बुवालाई आन्दोलनरत स्थलबाट इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टले प्रहरीको गाडीमा विमानस्थल पुर्याएका थिए। त्यहाँबाट उनीहरू काठमाडौं प्रस्थान गरेका हुन्।
काठमाडौं जानुअघि गरिमाका बुवा मनोज चौधरीले स्थानीयवासीलाई छोरीको न्यायका लागि आन्दोलन जारी राखिदिन आग्रह गरेका छन्।
यता, प्रहरीले केही अभियन्तासँग मिलेर वार्ताका लागि आमा–बुवालाई काठमाडौं लैजाने योजना गोप्य रूपमा बनाएको भन्दै स्थानीयवासीले सिमरा विमानस्थल अगाडि प्रहरीविरुद्ध नाराबाजीसमेत गरेका छन्।
गरिमाको न्यायको माग गर्दै स्थानीयस्तरमा आन्दोलन चर्किरहेका बेला आमा–बुवालाई काठमाडौं लगिएपछि गृहमन्त्रीसँगको वार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ।





















प्रतिक्रिया