काठमाडौँ – नेपाली श्रमिकको प्रमुख रोजगार गन्तव्य मलेसियाले नेपालसहित १० देशबाट श्रमिक ल्याउन नयाँ व्यवस्था लागू गरेको छ । मलेसियाको मानव संसाधन मन्त्रालयले विदेशी श्रमिक भर्नासम्बन्धी नयाँ प्रक्रिया कार्यान्वयनमा ल्याउँदै ‘विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली’ (एफडब्लूसीएमएस) मा सूचीकृत म्यानपावर कम्पनीमार्फत मात्रै श्रमिक भर्ना गर्न पाउने व्यवस्था गरेको हो ।
नयाँ व्यवस्थाअनुसार रोजगारदाताले एफडब्लूसीएमएसमा सूचीकृत नभएका म्यानपावर कम्पनीमार्फत विदेशी श्रमिक भर्ना गर्न पाउने छैनन् । नेपालबाट भने २५ वटा म्यानपावर कम्पनी मात्रै उक्त प्रणालीमा सूचीकृत भएका छन् ।
मलेसियाले नेपाली म्यानपावर कम्पनी सूचीकृत गर्दा नेपाल सरकारसँग पूर्वसहमति नलिएको भन्दै नेपाल पक्षले असन्तुष्टि जनाएको छ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले मलेसियाका कार्यवाहक राजदूत मोहम्मद फिरदोस आजामसँगको भेटमा श्रमिक भर्नासँग सम्बन्धित विषय द्विपक्षीय संवादमार्फत टुंग्याउनुपर्ने धारणा राख्नुभएको छ ।
यसैबीच, नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियाले सूचीकृत गरेका २५ वटा संस्थालाई निलम्बन गर्ने निर्णय गरेको छ । संघले नेपालको प्रचलित ऐन, नियम र कानुनअनुसार वैधानिक रूपमा व्यवसाय गरिरहेका म्यानपावर व्यवसायीको प्रतिस्पर्धा गर्ने अधिकार कुण्ठित भएको ठहर गरेको छ ।
मलेसियाको नयाँ व्यवस्थाले नेपाली श्रमिकको प्रमुख रोजगार गन्तव्यमा श्रमिक पठाउँदै आएका अन्य म्यानपावर कम्पनीको व्यवसायमा प्रत्यक्ष प्रभाव पार्ने देखिएको छ ।






















प्रतिक्रिया