नेपालमै बनेको सिप्रदी यात्री पी–२ स्कुटर सार्वजनिक, २०७ किलोमिटरसम्म रेन्ज


काठमाडौं । नेपालमै निर्माण गरिएको विद्युतीय स्कुटर सिप्रदी यात्री पी–२ सार्वजनिक गरिएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले एक कार्यक्रमबीच स्कुटरको उद्घाटन गरेका हुन्।

यात्रीले पी–२ लाई तीनवटा भेरियन्टमा बजारमा ल्याएको छ। यसको टप भेरियन्टमा ५.२ किलोवाट–घण्टा (kWh) क्षमताको ब्याट्री रहेको छ, जसले एकपटक चार्ज गर्दा २०७ किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ।

त्यस्तै, मिड भेरियन्टमा ३.२ kWh ब्याट्रीसहित १६२ किलोमिटर र लो भेरियन्टमा ३.० kWh ब्याट्रीसहित १४० किलोमिटरसम्म रेन्ज उपलब्ध हुने कम्पनीले जनाएको छ।

पी–२ को अधिकतम गति ९० किलोमिटर प्रतिघण्टा रहेको छ। १,३५० वाटको चार्जर प्रयोग गर्दा ब्याट्रीलाई ० देखि ८० प्रतिशतसम्म चार्ज गर्न करिब २.५ घण्टा लाग्ने जनाइएको छ। यस्तै, ३,३०० वाटको डीसी फास्ट चार्जरमार्फत २० देखि ८० प्रतिशतसम्म ब्याट्री चार्ज गर्न ४१ मिनेट लाग्ने कम्पनीको दाबी छ।

प्रयोगकर्तालाई सहज चार्जिङ सुविधा उपलब्ध गराउन नेपालका ३५ शहरमा चार्जिङ स्टेसन सञ्चालनमा रहेको यात्रीले जनाएको छ।

नेपालमै निर्माण गरिएको पी–२ मार्फत उच्च रेन्ज, फास्ट चार्जिङ र फरक ब्याट्री क्षमताका विकल्प उपलब्ध गराउँदै विद्युतीय सवारी बजारमा आफ्नो उपस्थिति थप विस्तार गर्ने लक्ष्य यात्रीले लिएको छ।