सिरहा । सिरहाको गोलबजार नगरपालिका–३ स्थित गागन खोला किनारमा करिब ५० वर्षीया महिलाको शव फेला परेको छ ।
मंगलबार भैँसी चराउन गएका स्थानीयले खोलाको किनारमा घोप्टो परेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
सूचनापछि इलाका प्रहरी कार्यालय गोलबजारको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ । शव पोस्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद प्रादेशिक अस्पताल पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
मृतक महिलाको हालसम्म पहिचान खुल्न सकेको छैन । उनको साथबाट पहिचान खुल्ने कुनै कागजातसमेत फेला परेको छैन ।
मृत्युको कारण पनि खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । पोस्टमार्टम रिपोर्ट र थप अनुसन्धानपछि घटनाको वास्तविक कारण खुल्ने प्रहरीले जनाएको छ ।






















प्रतिक्रिया