काठमाडौँ । रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहतका लागि निजी क्षेत्रबाट सहयोग जुट्ने क्रम तीव्र भइरहेका बेला विराटनगरस्थित शारदा ग्रुप र जाजु ग्रुपले संयुक्त रूपमा करिब ६० लाख रुपैयाँ बराबरको खाद्य सामग्री उपलब्ध गराउने घोषणा गरेका छन्।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत बाढीपीडितसम्म राहत पुर्याउने गरी दुवै व्यावसायिक समूहले एक लाख प्याकेट रमपम तयारी चाउचाउ, एक लाख प्याकेट गुडलाइट बिस्कुट र एक लाख प्याकेट गुडलाइट जुस उपलब्ध गराउने निर्णय गरेका हुन्।
एशियन थाई फुडद्वारा उत्पादित यी खाद्य सामग्री बाढी प्रभावित परिवारलाई राहतस्वरूप वितरण गरिने कम्पनीका ब्रान्ड म्यानेजर बसन्तमान श्रेष्ठले जानकारी दिए।
श्रेष्ठका अनुसार घोषणा गरिएको राहत सामग्रीको अनुमानित मूल्य करिब ६० लाख रुपैयाँ रहेको छ। बाढीका कारण घरबार तथा दैनिक जीवन प्रभावित भएका नागरिकलाई तत्काल खाद्यान्न तथा आवश्यक सामग्री उपलब्ध गराउने उद्देश्यले सहयोग घोषणा गरिएको उनले बताए।
“विपद्को यो कठिन समयमा प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनु हाम्रो सामाजिक दायित्व हो,” श्रेष्ठले भने।
रसुवामा तिब्बततर्फबाट भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण नदी तटीय क्षेत्रमा ठूलो क्षति भएको छ। बाढीपछि प्रभावित नागरिकको उद्धार, खोजी तथा राहत वितरणका लागि सरकारी निकायसँगै निजी क्षेत्र, सामाजिक संघ–संस्था तथा विभिन्न व्यवसायिक समूहहरू सक्रिय भएका छन्।
यस्तो विपद्को समयमा निजी क्षेत्रबाट घोषणा भएका राहत सहयोगले प्रभावित परिवारलाई तत्काल आवश्यक खाद्यान्न उपलब्ध गराउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।






















प्रतिक्रिया