प्रधानमन्त्री राहत कोषमा सहयोग गरेको भन्दै ChatGPT बाट नक्कली स्टेटमेन्ट बनाउने व्यक्ति पक्राउ


काठमाडौं । रामेछापमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ लाख २० हजार सहयोग गरेको भन्दै ChatGPT प्रयोग गरी नक्कली स्टेटमेन्ट तयार पारेर सामाजिक सञ्जालमा पोस्ट गर्ने व्यक्ति पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार गोकुलगंगा गाउँपालिका–२, ठोसेका ३२ वर्षीय भगवान् कार्की पक्राउ परेका हुन्।

प्रहरीका अनुसार उनले रसुवाको भोटेकोशी बाढी प्रभावितको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ लाख २० हजार सहयोग गरेको दाबी गर्दै ChatGPT को प्रयोगबाट नक्कली स्टेटमेन्ट तयार गरेका थिए। उक्त स्टेटमेन्टसँगै आफ्नो QR कोडसमेत सामाजिक सञ्जालमा पोस्ट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

कार्कीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।