काठमाडौं – बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकका मुख्य ७ निर्णय सार्वजनिक गरिएको छ।
सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन्।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ७ निर्णय :
१. एसियाली विकास बैंकबाट भोटेकोशी बाढी प्रभावित जनताको जीवनरक्षा तथा तत्कालीन आपतकालीन उद्धार र राहतका लागि प्राप्त हुने ५ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने।
२. रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित व्यक्ति, उद्योग, व्यापार तथा व्यवसायलाई तत्काल सञ्चालनमा ल्याउन एकीकृत व्यवसाय पुनर्स्थापना योजनाअन्तर्गत राहत, कर तथा महसुललगायत सहुलियत तथा सुविधा उपलब्ध गराउने।
३. साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत कूल २५ हजार मेट्रिक टन चिनी १ प्रतिशत भन्सार महसुलमा आयात गर्न स्वीकृति दिने।
४. रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च उपलब्ध गराउने। उद्धारका क्रममा घाइते भएमा निःशुल्क औषधि उपचार तथा मृत्यु भएमा परिवारलाई प्रतिमृतक १० लाख रुपैयाँ राहत उपलब्ध गराउने।
५. विसं २०८३ साल भदौ २३ गते जेनजी शहीद दिवसका अवसरमा नेपालभर सार्वजनिक बिदा दिने।
६. विसं २०८३ साल भदौ १० गते नेपाल–चीन सीमा क्षेत्रमा रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण मृत्यु भएकाहरूको सम्मानमा घटनाको १३औँ दिन अर्थात् भदौ २२ गते सोमबार राष्ट्रिय शोक मनाउने। उक्त दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास एवं नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने।
७. नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहको राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा नारायणप्रसाद भट्टलाई बढुवा गर्ने र उनलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेशको प्रमुख सचिव पदमा पदस्थापन गर्ने।



















प्रतिक्रिया