बाढी प्रभावित रसुवामा डिशहोम र वनवेबद्वारा निःशुल्क स्याटेलाइट इन्टरनेट


काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण दूरसञ्चार तथा इन्टरनेट पूर्वाधारमा क्षति पुगेपछि बाढी प्रभावित रसुवाका विभिन्न क्षेत्रमा डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) र युटेलस्याट वनवेबको सहकार्यमा निःशुल्क स्याटेलाइट इन्टरनेट सेवा उपलब्ध गराइएको छ।

गत भदौ १० गते आएको बाढीका कारण जिल्लाका विभिन्न क्षेत्रमा दूरसञ्चार तथा इन्टरनेट पूर्वाधारमा ठूलो क्षति पुगेपछि प्रभावित क्षेत्रमा सञ्चार तथा सूचना आदानप्रदानलाई निरन्तरता दिन डिशहोमले विशेष पहल अघि बढाएको हो।

नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति तथा समन्वयमा डिशहोमले युटेलस्याट वनवेबसँगको सहकार्यमा बाढीबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमा निःशुल्क वनवेब स्याटेलाइट इन्टरनेट सेवा सञ्चालनमा ल्याएको जनाएको छ। उक्त सेवा भदौ २० गतेदेखि प्राथमिकताका आधारमा उपलब्ध गराउन थालिएको हो।

प्राकृतिक विपद्का समयमा भरपर्दो सञ्चार सेवा उद्धार, राहत तथा समन्वयका लागि अत्यावश्यक हुने भएकाले प्रभावित क्षेत्रका सरकारी कार्यालय, सुरक्षा निकाय, उद्धार तथा राहत शिविर र महत्वपूर्ण समन्वय केन्द्रहरूमा निःशुल्क स्याटेलाइट इन्टरनेट सेवा उपलब्ध गराइएको छ।

युटेलस्याट वनवेबको लो-अर्थ अर्बिट (LEO) स्याटेलाइट प्रविधिमार्फत उपलब्ध गराइएको उक्त वैकल्पिक कनेक्टिभिटीले बाढीका कारण क्षतिग्रस्त स्थलीय दूरसञ्चार तथा इन्टरनेट पूर्वाधारको विकल्पका रूपमा काम गर्नेछ।

यस सेवाले सरकारी निकाय, सुरक्षा निकाय, स्थानीय प्रशासन, उद्धारकर्मी तथा मानवीय सहायता र राहत कार्यमा संलग्न सरोकारवालाबीच सूचना आदानप्रदान, वास्तविक समयको समन्वय तथा आवश्यक डेटा प्रवाहलाई निरन्तरता दिन सहयोग पुग्ने जनाइएको छ।

डिशहोमले प्राकृतिक विपद्का कारण परम्परागत दूरसञ्चार तथा इन्टरनेट सेवा अवरुद्ध हुँदा भरपर्दो वैकल्पिक सञ्चार माध्यम उपलब्ध गराउनु आफ्नो प्राथमिकता रहेको जनाएको छ।

कम्पनीले कठिन परिस्थितिमा सरकारी निकाय, सुरक्षा तथा उद्धारकर्मी र प्रभावित समुदायलाई आवश्यक सञ्चार सुविधा उपलब्ध गराउन आफू प्रतिबद्ध रहेको जनाएको छ। साथै, विपद् व्यवस्थापन तथा पुनःस्थापनाको अवधिमा आवश्यकता अनुसार सेवा र स्रोत परिचालन गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।

डिशहोमले नेपाल दूरसञ्चार प्राधिकरण, सरकारी निकाय, सुरक्षा निकाय तथा स्थानीय सरोकारवालासँग समन्वय गर्दै प्रभावित क्षेत्रमा कनेक्टिभिटीको आवश्यकता र प्राथमिकताको मूल्याङ्कन गरी आवश्यकताअनुसार थप स्थानमा स्याटेलाइट इन्टरनेट सेवा विस्तार गर्ने जनाएको छ।