काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भई विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा बसिरहेका परिवारका लागि अस्थायी बसोबासको व्यवस्था गर्न सरकारले सर्वेक्षण सुरु गरेको छ।
आपत्कालीन अवस्थामा सञ्चालन गरिएका होल्डिङ सेन्टरमा रहेका प्रभावित परिवारलाई अब केही हप्ताभित्रै उनीहरूको इच्छाअनुसार छुट्टाछुट्टै अस्थायी बसोबासको व्यवस्था गर्ने उद्देश्यले सर्वेक्षण थालिएको हो।
पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागले मंगलबारदेखि प्रभावित जिल्लामा टोली खटाएर ‘कोबो टुलबक्स’मार्फत ‘आवश्यकता मूल्याङ्कन फारम’ प्रयोग गरी सर्वेक्षण गरिरहेको छ।
सर्वेक्षणमार्फत प्रभावित व्यक्ति तथा परिवारको विवरण, घर पूर्ण वा आंशिक क्षति भएको अवस्था, दिवंगत तथा बेपत्ता सदस्यको संख्या, सरकारी सहयोगमा अस्थायी आश्रय वा भाडामा बस्न चाहेको अवस्था, जग्गाको उपलब्धता तथा स्थानान्तरणका उपयुक्त विकल्पबारे जानकारी संकलन गरिनेछ।
यस्तै, खानेपानी, सरसफाइ तथा अन्य आवश्यकतासम्बन्धी विवरणसमेत सर्वेक्षणबाट संकलन गरिने विभागले जनाएको छ।
होल्डिङ सेन्टरमा रहेका प्रत्येक परिवारको आवश्यकता पहिचान गरी सरकारको अस्थायी बसोबाससम्बन्धी योजना कार्यान्वयनमा सहयोग पुर्याउने उद्देश्यले सर्वेक्षण भइरहेको हो।
एक साताभित्र सर्वेक्षण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। त्यसपछि होल्डिङ सेन्टरबाहिर रहेका बाढी प्रभावित परिवारको पनि यही फारम प्रयोग गरी आवश्यकता मूल्याङ्कन गरिनेछ।




















प्रतिक्रिया