मकवानपुरगढीमा लालपुर्जा वितरण, ६ सुकुम्बासी परिवार बने जग्गाधनी


मकवानपुर । जिल्ला भूमि समस्या समाधान समिति मकवानपुरले मकवानपुरगढी गाउँपालिका–३ का ६ भूमिहीन सुकुम्बासी परिवारलाई जग्गाधनी पुर्जा (लालपुर्जा) वितरण गरेको छ।

लामो समयदेखि आफ्नै नाममा जग्गाको स्वामित्व नभएका स्थानीयले लालपुर्जा प्राप्त गरेसँगै कानुनी रूपमा जग्गाधनी बन्ने अवसर पाएका छन्।

लालपुर्जा प्राप्त गरेपछि लाभग्राही परिवारले आफ्नो नाममा जग्गाको कानुनी स्वामित्व कायम भएको बताएका छन्। यससँगै वर्षौंदेखि भोगचलन गर्दै आएको जग्गामाथिको स्वामित्वसम्बन्धी समस्या समाधान हुने अपेक्षा गरिएको छ।

सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई प्राथमिकतामा राख्दै आएको छ। सोही नीतिअनुसार वास्तविक भूमिहीन तथा सुकुम्बासीको पहिचान गरी जग्गाधनी पुर्जा वितरणको प्रक्रिया अघि बढाइएको हो।

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने सरकारको लक्ष्यअनुसार लालपुर्जा वितरणलाई थप प्रभावकारी बनाउँदै लगिएको समितिले जनाएको छ।

मकवानपुरगढीमा गरिएको लालपुर्जा वितरणले वर्षौंदेखि भूमिहीन अवस्थामै रहेका परिवारलाई सुरक्षित आवास तथा सम्पत्तिको कानुनी अधिकार सुनिश्चित गर्ने दिशामा महत्वपूर्ण कदम भएको जनाइएको छ।