काठमाडौं – अविरल वर्षाका कारण आएको बाढीपहिरो तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि टेक्नो मोबाइल नेपालले १० लाख रुपैयाँ सहयोग गरेको छ।
कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ। ‘टेक्नो स्ट्यान्ड्स विथ नेपाल’ अभियानअन्तर्गत प्रदान गरिएको सहयोग संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)प्रतिको प्रतिबद्धताको महत्वपूर्ण पहल भएको कम्पनीले जनाएको छ।
बुधबार टेक्नो मोबाइल नेपालका महाप्रबन्धक शंकर मैनालीसहितको टोलीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो।
विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिक तथा समुदायसँग ऐक्यबद्धता जनाउँदै राहत, उद्धार तथा पुनःस्थापनाका लागि सरकार र सम्बन्धित निकायमार्फत भइरहेका प्रयासमा योगदान पुर्याउने उद्देश्यले सहयोग गरिएको कम्पनीले जनाएको छ।
टेक्नो मोबाइल नेपालले प्राकृतिक विपद्का बेला प्रभावित समुदायसँग एकताबद्ध भएर उभिनु आफ्नो सामाजिक दायित्व भएको जनाएको छ।
कम्पनीले भनेको छ, ‘टेक्नोको यो योगदान केवल आर्थिक सहयोग मात्र नभई नेपाली जनताप्रतिको हाम्रो ऐक्यबद्धता, संवेदनशीलता र जिम्मेवारीको प्रतिबिम्ब हो।’
टेक्नो मोबाइल नेपालले आफ्नो सहयोगबाट बाढीपहिरो प्रभावित नागरिकका लागि तत्काल राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। साथै, आगामी दिनमा पनि आवश्यकता र परिस्थितिअनुसार समुदाय तथा राष्ट्रका लागि सहयोगी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ।



















प्रतिक्रिया