काठमाडौं । देशमा आइपर्ने हरेक कठिन परिस्थितिमा योगदान गर्दै आएको ढुवानी व्यवसायी महासंघ नेपाल (Federation of Transporters–Nepal) ले रसुवा–भोटेकोशी बाढीपीडितका लागि १२ लाख ३४ हजार ५ सय ६७ रुपैयाँ सहयोग गरेको छ।
महासंघका अध्यक्ष माधवप्रसाद नेपालको नेतृत्वमा निवर्तमान अध्यक्ष विश्वनाथ खनाल, वरिष्ठ उपाध्यक्ष अचुतराज खनाल, उपाध्यक्ष अरुणकुमार श्रेष्ठ, महासचिव पुष्पराज श्रेष्ठ, कोषाध्यक्ष पूर्णप्रसाद रेग्मी लगायतको टोलीले अर्थमन्त्री स्वर्णिम वाग्लेसमक्ष ट्रान्सपोर्ट व्यवसायीहरूबाट संकलित रु. १२,३४,५६७ बराबरको चेक हस्तान्तरण गरेको हो।

चेक हस्तान्तरणका क्रममा महासंघले रसुवा–भोटेकोशी बाढी प्रभावित नागरिकका लागि विभिन्न स्थानबाट प्राप्त राहत तथा अत्यावश्यक सामग्री नुवाकोटसम्म निःशुल्क ढुवानी गर्दै आइरहेको जानकारीसमेत अर्थमन्त्रीसमक्ष गराएको थियो।
महासंघले बाढीबाट प्रभावित नागरिकलाई राहत सामग्री सहज रूपमा पुर्याउन आफ्नो तर्फबाट निःशुल्क सवारीसाधन तथा ढुवानी सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।
विपद्को यस कठिन अवस्थामा प्रभावित नागरिकलाई सहयोग गर्नु आफ्नो सामाजिक दायित्व भएको भन्दै महासंघले आगामी दिनमा पनि राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।




















प्रतिक्रिया