प्रधानमन्त्री बालेनले सेप्टेम्बर २४ मा राष्ट्रसंघ महासभालाई सम्बोधन गर्ने


काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले आगामी सेप्टेम्बर २४ मा संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्ने भएका छन् ।

परराष्ट्र सचिव अमृतबहादुर राईले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहको महासभा सम्बोधनको कार्यतालिकाबारे जानकारी दिएका हुन् ।

सचिव राईका अनुसार संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको ‘हाई लेभल जनरल डिबेट’ सेप्टेम्बर २२ देखि २८ सम्म अमेरिकाको न्युयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा हुँदैछ । उक्त महासभाको जनरल डिबेटमा प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ मा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

महासभामा ८१ मुलुकका राष्ट्रप्रमुख र ५० मुलुकका सरकार प्रमुख सहभागी हुने जानकारी राष्ट्रसंघबाट प्राप्त भएको सचिव राईले बताए ।

जेनजी आन्दोलनदेखि सरकारका प्राथमिकतासम्म उठाउने

प्रधानमन्त्री शाहले महासभामा नेपालमा गत वर्ष भएको जेनजी आन्दोलन, त्यसपछि सम्पन्न निर्वाचन तथा ठूलो जनमतसहित गठन भएको वर्तमान सरकारका प्राथमिकताबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने भएका छन् ।

साथै, अन्तर्राष्ट्रिय सहयोग र सद्भावलाई निरन्तरता दिन तथा थप सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायसमक्ष उच्चस्तरबाटै आह्वान गर्ने महासभा महत्वपूर्ण अवसर हुने राईले बताए ।

जलवायु न्यायका लागि विश्व समुदायलाई आह्वान

प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण नेपालले भोग्दै आएको जनधनको क्षतिबारे पनि महासभामा विश्व समुदायको ध्यानाकर्षण गराउने भएका छन् ।

नेपालले नगण्य मात्रामा कार्बन उत्सर्जन गरे पनि जलवायु परिवर्तनका कारण ठूलो असर भोगिरहेको विषयलाई प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय मञ्चमा उठाउने सचिव राईले जानकारी दिए ।

उनका अनुसार प्रधानमन्त्री शाहले जलवायु न्यायका लागि विश्व समुदायलाई आह्वान गर्नेछन् । साथै, प्रकृतिमैत्री जीवनशैली, ४६ प्रतिशतभन्दा बढी वन क्षेत्र, विशाल हिमालय र बृहत् नदी प्रणालीमार्फत नेपालले विश्व वातावरण संरक्षणमा पुर्‍याउँदै आएको योगदानबारे पनि जानकारी गराइनेछ ।

हिमालयमा जलवायु परिवर्तनको असरबारे साइड इभेन्ट

महासभाका क्रममा नेपालले उच्चस्तरीय साइड इभेन्टसमेत आयोजना गर्ने भएको छ । विश्वव्यापी जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा परेको नकारात्मक प्रभाव र त्यसबाट सिर्जित विनाशकारी परिणामबारे छलफल गरी विश्व समुदायको ध्यानाकर्षण गराउनु उक्त कार्यक्रमको मुख्य उद्देश्य रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसैगरी, महासभाका क्रममा परराष्ट्रमन्त्री शिशिर खनालले अति कम विकसित मुलुक, भू–परिवेष्ठित विकासोन्मुख मुलुक, असंलग्न मुलुकलगायतका विभिन्न मन्त्रिस्तरीय बैठकमा सहभागी हुने कार्यक्रम रहेको छ ।

परराष्ट्र सचिव राईका अनुसार परराष्ट्रमन्त्री खनालले संयुक्त राष्ट्रसंघले आयोजना गर्ने विभिन्न उच्चस्तरीय छलफल तथा साइड इभेन्टलाई सम्बोधन गर्नुका साथै छिमेकी मुलुकसहित अन्य देशका समकक्षी र संयुक्त राष्ट्रसंघका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ ।