काठमाडौं । भोटेकोशी बाढीका कारण सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको मूल्याङ्कन गर्न पूर्वाधार विकास मन्त्रालयले समिति गठन गरेको छ।
यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा गठित समितिले बाढीबाट सार्वजनिक यातायात क्षेत्रमा भएको क्षति, क्षतिपूर्तिको आधार तथा अन्य सम्बन्धित विषयमा अध्ययन गर्नेछ। समितिले १५ दिनभित्र आवश्यक राय तथा सुझावसहितको प्रतिवेदन मन्त्रीसमक्ष पेश गर्नेछ।
समितिमा पूर्वाधार विकास मन्त्रालयका उपसचिव निर्मला गुरुङ, सिडिई शंकर सिंह धामी, सल्लाहकार आरपी महतो, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका तर्फबाट दिलबहादुर श्रेष्ठ, श्री श्रेष्ठ र हरिभक्त श्रेष्ठ तथा यातायात मजदुर संघ–संगठनका तर्फबाट धर्मराज भण्डारी, भीम ज्वाला राई र दीपक केसी सदस्य रहेका छन्।
त्यस्तै, यातायात क्षेत्रसँग सम्बन्धित नीति, नियम, ऐन, कानुन तथा मापदण्डलाई समयानुकूल परिमार्जन गर्न अर्को समिति पनि गठन गरिएको छ। भविष्यमा आउन सक्ने विपद्जन्य समस्याको न्यूनीकरण तथा यातायात क्षेत्रलाई थप व्यवस्थित बनाउन आवश्यक कानुनी तथा नीतिगत सुधारका लागि पूर्वाधार विकास मन्त्रालयका सहसचिव जंगबहादुर डाँगीको संयोजकत्वमा समिति गठन गरिएको हो।
उक्त समितिले ४५ दिनभित्र अध्ययन गरी राय–सुझावसहितको प्रतिवेदन पेश गर्नुपर्नेछ।
मन्त्रालयले दुवै समितिको प्रतिवेदनका आधारमा बाढीबाट प्रभावित यातायात क्षेत्रको क्षति व्यवस्थापन गर्नुका साथै आगामी दिनमा यस्ता विपद्बाट उत्पन्न हुन सक्ने समस्या न्यूनीकरण गर्न आवश्यक नीतिगत तथा कानुनी सुधार अघि बढाउने जनाएको छ।




















प्रतिक्रिया