प्रधानमन्त्री बालेन्द्र शाहले बाढी प्रभावित जनप्रतिनिधिसँग छलफल गर्दै


काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका विभिन्न जिल्ला तथा स्थानीय तहका जनप्रतिनिधिसँग छलफल सुरु गर्नुभएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज बिहान ११ बजेदेखि नुवाकोट, रसुवा, धादिङ, गोरखा र तनहुँका विपद् प्रभावित १५ स्थानीय तहका प्रमुख तथा प्रतिनिधिसभा सदस्यहरूसँग छलफल भइरहेको हो।

छलफलमा बाढीपछि प्रभावित क्षेत्रमा उत्पन्न अवस्थाको समीक्षा, पछिल्लो परिस्थिति, तत्काल चाल्नुपर्ने कदम तथा पुनरुत्थानका विषयमा केन्द्रित भएर छलफल हुने बताइएको छ।

छलफलमा नुवाकोटका प्रतिनिधिसभा सदस्य विक्रम तिमिल्सिना र अच्युतम लामिछाने सहभागी हुनुहुन्छ। त्यस्तै, विदुर नगरपालिकाका नगर प्रमुख राजन श्रेष्ठ, बेलकोटगढी नगरपालिकाका नगर प्रमुख जगतबहादुर गुरुङ, किस्पाङ गाउँपालिकाका अध्यक्ष विरबल तामाङ र तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारी सहभागी हुनुहुन्छ।

रसुवाबाट उत्तरगया गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्याल, कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटा र आमाछोदिङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ छलफलमा उपस्थित हुनुहुन्छ। गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङ भने अनलाइनमार्फत सहभागी हुनुभएको छ।

त्यसैगरी, धादिङका गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडा, सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडा, गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ र बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक) छलफलमा सहभागी हुनुहुन्छ।

तनहुँका देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा र आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान तथा गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दिपक तिमिल्सिना (साकार) पनि छलफलमा सहभागी हुनुभएको छ।

भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहतपछि अब पुनर्निर्माण र पुनरुत्थानका कामलाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा छलफल महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।