काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसीसी लक्जेम्बर्गले तीज कार्यक्रम स्थगित गर्दै भोटेकोशी बाढीपहिरो पीडितको सहयोगार्थ च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको छ।

एनआरएनए एनसीसी लक्जेम्बर्गले आगामी १३ सेप्टेम्बरमा तीज कार्यक्रम आयोजना गर्ने तयारी गरेको थियो। कार्यक्रमका लागि हलसमेत बुक भइसकेको थियो। तर, गत २६ अगस्टमा भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोका कारण धेरै परिवार विचल्लीमा परेको अवस्थालाई मध्यनजर गर्दै संस्थाले तीज कार्यक्रमको सट्टा राहत संकलनका लागि च्यारिटी कार्यक्रम गर्ने निर्णय गरेको हो।

कार्यक्रम हुन दुई हप्ता मात्रै बाँकी रहेको अवस्थामा निर्णय परिवर्तन गरिएको भए पनि विपद्मा परेका परिवारलाई आफ्नो तर्फबाट सानो भए पनि सहयोग गर्नुपर्छ भन्ने भावनाका साथ तयारी तथा व्यवस्थापन अघि बढाइएको संस्थाले जनाएको छ।
आयोजित च्यारिटी डिनरमा नेपालका पूर्व मानार्थ कन्सुल, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा नेपाली र गैरनेपाली समुदायका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा भोटेकोशी बाढीपीडितहरूको अवस्था, उनीहरूलाई आवश्यक सहयोग तथा विपद्को समयमा समुदायको भूमिकाबारे चर्चा गरिएको थियो।
कार्यक्रमको सञ्चालन संस्थाका महासचिव नवज्योत न्यौपाने र सह–कोषाध्यक्ष राधिका खत्रीले गरेका थिए। कार्यक्रमको समापन संस्थाका अध्यक्ष दुर्गा केसी थापाले गरेका थिए।

यसअघि पनि लक्जेम्बर्गस्थित नेपाली समुदायले एनआरएनए एनसीसी लक्जेम्बर्गमार्फत भोटेकोशी बाढीपीडितका लागि रु. १० लाख ५० हजार राहतस्वरूप पठाइसकेको छ। च्यारिटी कार्यक्रम तथा अन्य सहयोग संकलन अभियानमार्फत थप रकम जुटाउने कार्यसमेत जारी रहेको संस्थाले जनाएको छ।
भोटेकोशी बाढीपीडितको राहत तथा सहयोगका लागि एनआरएनए एनसीसी लक्जेम्बर्गले प्रारम्भमा रु. १५ लाख सहयोग संकलन गर्ने लक्ष्य राखेको थियो। समुदायबाट प्राप्त उत्साहजनक साथ, सहयोग र सद्भावलाई ध्यानमा राख्दै लक्ष्यभन्दा बढी रकम संकलन गर्ने प्रयास भइरहेको अध्यक्ष दुर्गा केसी थापाले जानकारी दिएका छन्।

अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति, संघसंस्था तथा नेपाली र गैरनेपाली समुदायप्रति एनआरएनए एनसीसी लक्जेम्बर्गले आभार व्यक्त गरेको छ।


















प्रतिक्रिया