काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आए पनि हाल कायम रहेको पेट्रोल तथा डिजेलको बिक्री मूल्य यथावत राख्ने निर्णय गरेको छ।
इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट भदौ ३० गते प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १२ रुपैयाँ ४० पैसा र डिजेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ ६८ पैसा बढेर आएको निगमले जनाएको छ।
तर, रसुवाको भोटेकोशी क्षेत्रमा आएको असाधारण बाढीबाट सिर्जित परिस्थितिलाई मध्यनजर गर्दै निगम सञ्चालक समितिको निर्णयअनुसार भदौ ३१ गते अर्थात् १६ सेप्टेम्बर २०२६ बिहान १ बजेदेखि लागू हुने गरी साविककै खुद्रा बिक्री मूल्यलाई यथावत राखिएको हो।
निगमका अनुसार हाल पहिलो वर्गमा पेट्रोल र डिजेल प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९९ रुपैयाँ र तेस्रो वर्गमा २०० रुपैयाँ कायम छ। तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल रहेका छन्।
त्यस्तै, हवाई इन्धन (आन्तरिक) प्रतिलिटर २४९ रुपैयाँ र एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ कायम गरिएको छ।
निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर वृद्धि भइरहे पनि सोहीअनुसार मूल्य समायोजन नगर्दा हालको अवस्थामा निगमलाई मासिक करिब १ अर्ब ९१ करोड ६९ लाख रुपैयाँ घाटा हुने जनाएको छ।
निगमले मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव भइरहेको जनाएको छ।



















प्रतिक्रिया