चितवन । बाढीले बगाएर ल्याएको महिलाको शवबाट सुनको मुन्द्रा लुटेको अभियोगमा पक्राउ परेका दुई जनासँग जिल्ला अदालत चितवनले जनही २५ हजार रुपैयाँ धरौटी मागेको छ ।
न्यायाधीश चाणकमणि अर्यालको एकल इजलासले मदन गुरुङ र उमेश चौधरीलाई जनही २५ हजार रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो ।
भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले बगाएर ल्याएको महिलाको शव भरतपुर महानगरपालिका–२ स्थित नारायणी नदी किनारमा अडिएको थियो । बाढी हेर्न पुगेका गुरुङ र चौधरीले शवको कानमा रहेको सुनको मुन्द्रा बाँसको लाठीको सहायताले निकालेको अभियोग छ ।
घटनाको फोटो तथा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो । प्रहरीले उनीहरूको साथबाट चारवटा सुनका मुन्द्रा बरामद गरेको थियो ।
अदालतको मिसिलअनुसार दुवैले बयानका क्रममा मुन्द्रा निकालेर दुई–दुई वटा बाँडेको स्वीकार गरेका छन् । प्रहरीको किटानी प्रतिवेदन, बरामदी मुचुल्का, सामाजिक सञ्जालमा सार्वजनिक दृश्य र प्रतिवादीको बयानका आधारमा अदालतले तत्काल थुनामा राख्न आवश्यक नदेखिएपछि धरौटीमा छाड्न आदेश दिएको हो ।



















प्रतिक्रिया