काठमाडौँ । संसद् भवनभित्र रहेको क्यान्टिनमा खाद्यवस्तुको मूल्य अस्वाभाविक रूपमा महँगो भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरिमोहन भण्डारीले प्रतिनिधिसभा बैठकमै गुनासो गरेका छन्।
बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद भण्डारीले क्यान्टिनमा खाद्यवस्तुको मूल्यमा कुनै तालमेल नरहेको बताए। महँगो खाजाका कारण सांसदहरूले समस्या भोग्नुपरेको उनको भनाइ छ।
‘क्यान्टिनमा रेटको कुनै तालमेल छैन। खाजा महँगो छ, जसले गर्दा माननीयहरूले सास्ती भोग्नुपरेको छ,’ उनले भने, ‘भोकभोकै बस्नुपर्ने वा महँगो मूल्य तिर्नुपर्ने दुवै विकल्प पीडादायी छन्। यसतर्फ संसद् सचिवालयको ध्यान जानु जरुरी छ।’
सांसद भण्डारीले सांसदको तलबले घरभाडा तिर्ने कि बसभाडा तिर्ने भन्ने अवस्था रहेको समेत बताए। संसद् बैठकका कारण बाहिर गएर खाजा खानसमेत नपाइने भन्दै आफू अघिल्लो दिन भोकै बस्नुपरेको उनले सुनाए।
‘क्यान्टिनको अविलम्ब व्यवस्था गर्न जरुरी छ । नत्र सचेतकज्यूले कतिखेर कहाँ हो भनि हाल्नुहुन्छ। बाहिर जाउँ पनि भएन, भोकभोकै बस्नुपर्ने अवस्था आयो हिजो,’ उनले भने।
भण्डारीले संसद् भवनको क्यान्टिनमा लामखुट्टेको समस्या पनि रहेको भन्दै त्यसतर्फ समेत संसद् सचिवालयको ध्यानाकर्षण गराएका छन्।



















प्रतिक्रिया